मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारीस्थित पुर्व पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । 

हिजो बेलुका करिब पौने ६ बजे भएको उक्त दुर्घटनामा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खाको मृत्यु भएको छ । पश्चिमतर्फ जादै गरेको भारतीय लहरीले विपरित दिशाबाट जादै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका लिङ्खाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार छन् । फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।

 यसैगरि, झापाको अर्जुन्धारा नगरपालिका ११ सालबारीस्थित चारआली शनिश्चरे सडक खण्डमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाएर दुर्घटना हुँदा चालक १८ बर्षीय कुसल दासको मृत्यु भएको हो । हिजो राती साढे ९ बजे पश्चिमतर्फ जादै गरेको प्र १-०१-०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्वटमा ठोकिएर खोलामा खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनाबारे जानकारी पाएपछि अस्थाई प्रहरी पोष्ट सालबारीको टोली घटनास्थलमा पुगेको थियो । सोही प्रहरी टोलीले पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाएको थियो । अस्पताल पुर्‍याउन साथ उनको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।