धरान: नेकपा (एकीकृत समाजवादी)का नेता एवं संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले भोली प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको प्रस्ताव फेल हुने दाबी गरेका छन् ।

गृहजिल्ला तेह्रथुम जाने क्रममा आइतबार धरान उपमहानगरपालिकामा भेटघाट तथा अन्तक्रिया गर्दै राज्यमन्त्री खापुङले यस्तो दाबी गरेका हुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले विश्वासको मतको प्रस्ताव फेला हुने र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बताए । उनले भने,‘प्रदेश १ मा भोली १५ गते विश्वासको मत लिने दिन छ, विश्वासको मतको प्रस्ताव फेला हुन्छ, र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।’

राज्यमन्त्री खापुङले एकीकृत समाजवादीबाट नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने पनि बतए । उनले मुख्यमन्त्रीमा आलोपालो गर्ने भन्ने कुरा आफुलाई थाह नभएको भन्दै मुख्यमन्त्रीमा आफ्नै दलबाट निरन्तरता पाउने बताए । उनले भने,‘राजेन्द्र राईको नेतृत्वमा सरकार बन्छ, आलोपालो गर्ने भन्ने कुरा मलाई थाह छैन । शीर्ष नेताहरुबीच सहमति छ भने त्यो छुट्टै कुरा हो, बाहिर आएको छैन ।’