सुनसरी: सुनसरीको कोशी गाउँपालिका २ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ बर्षीया बालिकाको मृत्यु भएको छ । 

आज बिहान पौने १२ बजे लौकही भित्री सडक खण्डमा उत्तरबाट दक्षीणतर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । अटोको ठक्करबाट अनियन्त्रीत भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका ७ की १६ बर्षीया बर्षा साह र उनीसंगै रहेकी २ बर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, घाईतेलाई थप उपचारको लागी बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।