धरान: धरान ८ स्थित जय श्री अटल पम्पअघि बसले मोटरसाइकललाई ठक्कर दिदा ३ जना घाइते भएका छन् । घाइते मध्ये एक जना गम्भीर छन् ।

कोशी राजमार्गमा धरान बजारतर्फ आइरहेको मे १ ख ३१९६ नम्बरको मौषम यातायातको बसले सोही दिसामा अगाडि गइरहेको को १९ प ८३७१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक मोरङ केराबारी ४ का ४३ बर्षीय खगेन्द्र लिम्बू र उनका २ छोरीहरु ९ बर्षीया भरोषा र ७ बर्षीया खिसुङ घाइते भएका थिए । घाइते मध्ये भरोरा र खिसुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकस्मिक कक्षमा उपचार भइरहेको छ । 

acci

घाइते मध्ये खगेन्द्र र खिसुङको अवस्था सामान्य छ भने भरोषा केही गम्भीर रहेकी छिन् । उनको टाउको र खुट्टामा चोट लागेको र केही गाह्रो भइरहेको बुबा खगेन्द्रले बताए । उनले भने,‘भरोसालाई केही गाह्रो भइरहेको छ, म र खिसुङ पनि घाइते हो, तर हामी ठिकै छौ ।’ उनले आफु पेट्रोल लगाउन मोडिदा बसले ठक्कर दिएको पनि बताए । 

जिल्ला ट्राफिक कार्यालय सुनसरीका अनुसार बस चालक ठकेन्द्रबहादुर कार्की र बस ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ । बस र मोटरसाइकल एउटै दिशाबाट आइरहेको र मोटरसाइकल मोडिएर पम्पतिर जान खोज्दा बसले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।