धरान: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन नजिकिदै गर्दा धमाधम उम्मेदवार घोषणाको लहर चलिरहेको छ । यही लहरको बीचमा धरानका कांग्रेस नेता, कार्यकर्ताहरुलाई तरंगित हुने गरि एउटा खबर फैलियो ।

कांग्रेस नेता रामचन्द्र पौडेल-शेखर कोइराला समुहका प्रमुख व्यक्ति धरानका मेयर तिलक राई देउवा समुहतिर ढल्केको र उनलाई सभापतिमा देउवा समुहले समर्थन गरेको भन्ने हल्लाले बजार पिट्यो । यो हल्ला मात्र हो वा वास्ताविकता नै हो, प्रष्ट भइसकेको छैन । तर, यो हल्लाको पराकम्पन धरानका कांग्रेसजनमा मात्र सिमित छैन, जिल्ला हुँदै केन्द्रसम्म नै तरंगित भएको छ । 

आगामी मंसिर ६ गते कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको निर्वाचन हुदैछ । पार्टीको नगर अधिवेशनमा धरान उपमहानगर सभापति नबनेका मेयर राईले सुनसरी १ नम्बर क्षेत्रीय सभापति उठ्न चाहेका छन् । तर, पौडेल-कोइराला समुहभित्र क्षेत्रीय सभापतिको उम्मेदवार सर्वसम्मत नहुने स्थिति भएपछि राई देउवा समुहतिर ढल्किएको चर्चा छ । यो समुहबाट क्षेत्रीय सभापतिमा सुजेन्द्र तामाङले पनि उम्मेदवार दाबी गरेका छन् । नेता कोइराला निकट तामाङ यो समुहका वलिया उम्मेदवार हुन् ।

कांग्रेसको १३ औं महाधिवेशनमा पौडेल-कोइराला समुहको नेतृत्व गर्दै धरान उपमहानगरको सभापतिमा प्यानलै जितेका युवा नेता हुन् राई । २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएपनि अर्को बर्ष मेयर पदको उपनिर्वाचनमा फेरि उम्मेदवार बनेर कम्युनिष्ट गढ भनिदै आएको धरान उपमहानगरमा कांग्रेसलाई ऐतिहासिक जित दिलाए । यो सफलताले उनको चर्चा राष्ट्रिय मात्र होइन, विदेशमा रहेका नेपालीहरुमाझ पनि चुलियो । गएको असोज ९ गते सम्पन्न नगर अधिवेशनमा पनि राई पौडेल-कोइराला प्यानलमा नै रहेर सभापति श्याम पोख्रेलसहित उनको प्यानललाई जिताउन भुमिका खेलेका थिए । तर, पछिल्लो पटक राई पार्टी सभापति देउवासँग नजिकिएको कांग्रेस नेताहरु बताउँछन् । 

के भन्छन् मेयर राई ?

Tilak-rai

देउवा समुह प्रवेश गरेको हल्लाबारे मेयर राई भने प्रष्टसँगले खुल्न चाहेनन् । यद्यपी उनले आफ्नो टिम (समुह) भित्र २ जना उम्मेदवार भएको र आफुलाई देउवा पक्षका उम्मेदवार भनिएका पुर्ण सुवेदीले समर्थन गर्दा हल्ला चलेको प्रतिक्रिया दिए । ‘म नगरसभापति छोडेर श्याम पोख्रेललाई बनायौ । स्वभाविकरुपमा क्षेत्रीय सभापतिको दाबेदार हुँ । सुजेन्द्र तामाङ जिल्ला सचिव भएकोले किन तलको पदमा झर्ने भन्ने हो,’राईले भने,‘हामी २ जना उम्मेदवार हुँदा मलाई अर्को समुहबाट समर्थन गर्दा गयो भन्ने भएको होला ।’

क्षेत्रीय सभापतिमा आफ्नो आवश्यकता देखेर नै देउवा समुहका उम्मेदवार पुर्ण सुवेदीले समर्थन जनाएको पनि मेयर राईले बताए । उनले भने,‘धरानको पार्टी सभापति थिएँ, मेयरकोरुपमा कार्यरत छुँ । उहाँले म क्षेत्रीय सभापतिमा आउदा राम्रो हुने देखेर नै सर्मथन गर्नु भयो होला ।’  

समझदारी विपरीत हिड्नु भयो: तामाङ

sujendra

पौडेल-कोइराला समुहबाट कांग्रेसको सुनसरी १ नम्बर क्षेत्रीय सभापतिमा सुजेन्द्र गोले तामाङ अघि बढेका छन् । यो समुहबाट उनीसँगै मेयर राई पनि सभापतिको उम्मेदवार बन्ने होडबाजी छ । तामाङ भने मेयर राईले विगतको समझदारी विपरीत क्षेत्रीय सभापतिमा उम्मेदवार बन्न चाहेको बताउँछन् । 

उनले भने,‘१३ औं महाधिवेशनको बेला नै यसपाली मलाई क्षेत्रीय सभापतिमा सहयोग गर्ने समझदारी भएको थियो । उहाँलाई पार्टी सभापति बनायौ, मेयर पनि बनायौं, तर अहिले त्यो समझदारी विपरीत जानु भयो ।’ यो पटक क्षेत्रीय सभापतिमा आफुलाई उठाउनेबारे १३ औं महाधिवेशनको बेला नै समझदारी भएको तामाङको भनाई छ । 

किसोर राई भन्छन्, 'मेरो टिमलाई हराउनेलाई के आधारमा समर्थन गर्ने ?'

kishor-rai

कांग्रेस धरानका प्रभावशाली तथा देउवा समुहका नेता किसोर राई झापालीले भने आफुहरुको टिमको मान्छे नभएकोले मेयर राईलाई समर्थन नहुने प्रष्ट पारे । गएको नगर अधिवेशनमा आफ्नो टिमलाई हराउन भुमिका खेल्नेलाई समर्थन गर्ने आधार नै नभएको उनले बताए । 

गएको नगर अधिवेशनमा धरान उपमहानगर सभापतिमा देउवा समुहबाट उम्मेदवार बनेका राईको प्यानलै पौडेल-कोइराला समुहबाट पराजित भएको थियो । ‘हाम्रो टिमको मान्छे होइन, हिजो मेरो टिमलाई हराएको मान्छे, के आधारमा सपोर्ट गर्ने ?’उनी भन्छन्,‘कसैले स्वार्थ बोकेर देउवा समुहको उम्मेदवार बनाउछ भने ऊ नै जानोस् ।’

देउवा समुहबाट क्षेत्रीय सभापतिका उम्मेदवार पुर्ण सुवेदी पछि हटेको भने राईले स्वीकार गरे । आफ्नो समुहबाट अर्को उम्मेदवार तयार गर्न र प्रचारप्रसार समिति बनाउन छलफल जारी रहेको उनले बताए । ‘उहाँ (पुर्ण सुवेदी) किन पछि सर्नु भयो, भन्नु भएको पनि छैन । हामी अर्को उम्मेदवार र समिति बनाउदैछौं,’उनले भने ।