धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अप्रेशन थिएटरमा कार्यरत चिकित्सक एवं कर्मचारीहरुले पाउदै आएको खानाको सुविधा कटौती भएको छ । 

प्रतिष्ठानले अप्रेशन थिएटरमा दिदै आएको खाना सुविधा कटौती गरेपछि चिकित्सक तथा कर्मचारीहरुले आफ्नै खर्चमा व्यवस्थापन गर्नुपरिरहेको छ । चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुको आन्दोलनले पदाधिकारीहरु कारबाहीमा पर्ने भएपछि अप्रेशन थिएटरमा लञ्च सुविधा व्यवस्थापनमा वेवास्ता गरेको चिकित्सकहरुको भनाई छ । प्रतिशोधकोरुपमा जिम्मेवार पदाधिकारीले लञ्चको नयाँ टेण्डर नगर्दा वा सम्झौता नवीकरण नगर्दा अप्रेशन थिएटरका चिकित्सक, कर्मचारीहरु समस्यामा भएको चिकित्सक डा.विष्णु पोख्रेलले जानकारी दिए । 

उनका अनुसार प्रतिष्ठानमा लञ्चको लागि दिउँसो १ देखि २ बजेसम्म ब्रेक हुने गरेको छ । तर अप्रेशन गरिरहेका चिकित्सक, कर्मचारीहरु त्यो समयमा खाना खान घर जान सक्दैनन् । त्यसैले प्रतिष्ठानले अप्रेशन जारी रहेकै बेला बीचमा ८० रुपैया बराबरको लञ्च खुवाउन व्यापारीसँग सम्झौता गरेको थियो । उक्त सम्झौता दशैं अघि सकिएको छ, र नयाँ ठेक्का वा पुरानो नवीकरण गर्न अस्पताल प्रशासनले ध्यान नदिएको उनले बताए । 

‘अहिले थिएटरमा टिम मिलेर आफैले खाना, खाजा ल्याइरहेका छौ, किचनको काम हो तर गर्दैनौं भन्छन्,’संयुक्त संघर्ष समितिका सहसंयोजकसमेत रहेका हाडजोर्नी विभागका डा.पोख्रेल भन्छन्,‘यो नियतवश नै हो । गत बर्ष पनि सम्झौता सकिदा नविकरण गरेको थियो । यसपाली पनि गर्न नमिल्ने थिएन, तर आन्दोलनको कारण केही गर्न मिल्दैन भन्दैछन् । आन्दोलनलाई दोष दिइरहेका छन् ।’

ओटी लञ्च सुचारु गर्न चिकित्सक कल्याण समाजको माग

प्रतिष्ठानस्थित चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजले ओटी लञ्च सुधिा कटौतीले अप्रेशन थिएटरमा कार्यरत चिकित्सक तथा कर्मचारीहरु प्रत्यक्ष प्रभावित भएको भन्दै सुविधा सुचारु गर्न माग गरेको छ । 

समाजका अध्यक्ष डा.अरुणकुमार सिंह र महासचिव डा.लोकेश शेखर जैसवालले अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई लिखितरुपमा माग पेश गरेका हुन् । उनीहरुले शनिबार साहलाई भेटेर माग पत्र बुझाएका थिए । अप्रेशन थिएटरमा कार्यरतहरुलाई एकदमै गाह्रो भइरहेको भन्दै समाजका अध्यक्ष डा.सिंहले खानेपानीको सुविधा पनि नभएको बताए । उनले भने, ओटी थिएटरभित्र लञ्ज कटौती भएको छ, र खानेपानीको सुविधा पनि नभएको पाइयो । यस्तो समस्या हुँदाहुदै पनि चिकित्सक, स्टाफहरुले आफ्नो सेवा निरन्तरता दिइरहेका छन् ।

अस्पताल निर्देशकको गैरजिम्मेवार जवाफ, 'साधारण कुरा हो, मलाई नसोध्नुस्'

अस्पताल सेवा तथा व्यवस्थापनको जिम्मा अस्पताल प्रशासनको हुन्छ । यसको प्रमुख हुन्, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह । उनीसँग यो बिषयमा फोन सम्पर्क गर्दा गैरजिम्मेवार जवाफ दिए । उनले भने, 'यो साधारण चिज हो । मलाई नसोध्नुस् ।'

bp-ot1