ईलाम: ईलामको सन्दकपुर गाउँपालिका १, चाँपगैरीमा दाजुभाईबीच झगडा हुँदा चक्कु प्रहारबाट एकको मृत्यु भएको छ । 

प्रहरी अनुसार भाई ३० बर्षीय चक्र मुखियाले आफ्नै दाजु ३५ बर्षीय ईच्छा मुखियालाई चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट दाजु इच्छाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार घटना हिजो राती ७ बजेको हो । दुवै दाजुभाई काका मान बहादुर मुखियाको घरमा बसेर मादक पदार्थ सेवन गरेका थिए ।

मदिरा पिएको अवस्थामा सामान्य बिबाद हुँदा भाई चक्रले दाजुलाई चक्कु प्रहार गरेको प्रहरीको भनाई छ । घटनालगत्तै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले चक्रलाई चक्कुसहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।