धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एसोसिएट प्रोफेसर डा.विकास साहले डेपुटी अस्पताल निर्देशकको अतिरिक्त जिम्मेवारी पाएका छन्। 

उनलाई प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सोमबार यो जिम्मेवारी दिएका हुन् । डा. साहलाई अर्को व्यवस्था नहुञ्जेलसम्मको लागी अस्पताल प्रशासनको दैनिक प्रशासनिक कार्यहरु हेर्ने गरि डेपुटी अस्पताल निर्देशकले गर्ने कार्यको समेत जिम्मेवारी उपकुलपति डा.गिरीले दिएका छन् । उनलाई अस्पताल निर्देशक एवं सम्बन्धित कलेज, महाशाखा, शाखाहरुसँग समन्वय गरी कार्य गर्ने जिम्मेवारी छ । 

डा.साहको कार्यकाल २ बर्षको हुनेछ । उनले मंगलबारदेखि आफ्नो कार्यभार सम्हालिसकेका छन् । डा. साह प्रतिष्ठानको फरेन्सिक मेडिसिन विभागका एसोसिएट प्रोफेसर हुन् । उनी यसअघि पनि प्रतिष्ठानको सहायक अस्पताल निर्देशककोरुपमा २ बर्ष १ महिना जिम्मेवारी बहन गरिसकेका छन् । पछिल्लो समय प्रतिष्ठान संकटमा गइरहेको बेला डा.साहले महत्वपुर्ण जिम्मेवारी पाएका छन् । प्रतिष्ठानका वहालवाला ३ जना पदाधिकारीहरुलाई सरकारले पदबाट हटाउने प्रक्रिया थालेको छ भने रजिष्ट्रारले राजिनामा दिइसकेको अवस्था छ । 

डा.साहले क्लिकधरानसँग प्रतिक्रिया दिदै असहज परिस्थितिको बेला महत्वपुर्ण जिम्मेवारी आफुले पाएको उल्लेख गर्दै विगतको अनुभवहरुबाट पनि पाठ सिकेर संस्थाको हितमा लागिपर्ने बताए । उनले आफु अस्पताल प्रशासन, अस्पतालको सेवा तथा विरामीहरुलाई सुविधा छिटो छरितो र गुणस्तरीय प्रवाह गर्न लागिपर्ने बताए । उनले भने,‘मेरो ध्यान अस्पतालको सेवा प्रभावकारी, गुणस्तरीय बनाउने र विरामीहरुलाई राम्रो सेवा प्रवाह गर्न केन्द्रीत हुनेछ । यसमा म एक्लैले मात्र सम्भव हुदैन, सबै पक्षबाट साथ सहयोग र समन्वय आवश्यक हुन्छ, र मैले त्यो अपेक्षा पनि राखेको छुँ ।’

डा.साहले यसअघि कोरोनाको पहिलो लहरको बेला कोभिड अस्पतालको आइसोलेसन २ को प्रमुख भएर पनि जिम्मेवारी निर्वाह गरेका थिए भने सय बेडको अस्पतालमा लामो समय विरामी भर्ना नगर्दा पदाधिकारीहरुको चर्को आलोचना भइरहदा उनले नै विरामी राख्न शुरुवात गरेका थिए । सबै पदाधिकारीहरु सिनेट बैठकको लागि काठमाण्डौं पुगेको बेला सहायक अस्पताल निर्देशकको हैसियतमा उनी मात्र प्रतिष्ठानको प्रशासनिकरुपमा प्रमुख थिए । कोभिड अस्पतालमा भर्ना गर्न पठाइएको विरामीलाई अझै तयारी नपुगेको भन्दै फिर्ता गरिसकेको अवस्थामा डा.साहले नै राती करिब ११ बजेतिर विरामी राख्न लगाएका थिए । यस्तै, कोरोनाको दोस्रो लहरको बेला पनि उनले कोभिड अस्पतालको फोकल पर्सनकोरुपमा रहेर विरामी व्यवस्थापनको जिम्मेवारी पुरा गरेका थिए ।