धरान: धरान १३ अमरहाटस्थित गुरुकुल प्रतिष्ठान धरानले देउसी खेलेर संकलन गरेको रकमले बाल आश्रमलाई सहयोग गरेको छ । 

प्रतिष्ठानले धरान ३ स्थित सरस्वती बाल आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । प्रतिष्ठानले मंगलवार आश्रममा नै पुगेर २० हजार रुपैया बराबरको खाद्यान्न आश्रमका महासचिव मनिष खड्गीलाई हस्तान्तरण गरेका थिए। प्रतिष्ठानले २ सय केजी चामल, एक कार्टुन तेल, २० केजी दाल, २० केजी चिनी, २० केजी आलु, १० केजी प्याज र नुन प्रदान गरिएको प्रतिष्ठानका सचिव सुमन राईले जानकारी दिए । 

गुरुकुल प्रतिष्ठान दुव्र्यसनी सुधार तथा उपचार केन्द्र हो । हाल केन्द्रमा २५ जना उपचार तथा सुधारका लागी रहेको सचिव राईले जानकारी दिए। चाडवाडको बेला केन्द्रका सदस्यहरुलाई सामाजिक कार्यमा सहभागिता गराउनको लागि अभियानको साथ देउसी खेलिएको राईले बताए । प्रतिष्ठानले केन्द्रका सदस्यहरुलाई यसरी नै विभिन्न सामाजिक कार्यमा सहभागिता गराई युवा तथा नागरिकको सामाजिक उत्तरदायित्वको विषयमा व्यवहारिक रुपमा बुझाउने कार्य गर्दै आइरहेको प्रतिष्ठानले जनाएको छ ।

खाद्यान्न हस्तान्तरणको क्रममा आश्रमका महासचिव खड्गीले प्रतिष्ठान परिवारलाई सहयोगका लागि धन्यवाद दिएका थिए । धन्यवाद दिने क्रममा आश्रमको कुनै पनि विदेशी सहयोग दाता वा संस्था नरहेको र यसरी नै धरानका सहयोगी मन भएकाहरुले व्यक्तिगत तथा संस्थागत रुपमा गरेको सहयोगले आश्रम चलिरहेको बताए । हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मौसम राई, सदस्य सविन राई, आश्रमका वालवालिका लगायतको उपस्थिति रहेको थियो ।