धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको निर्वाचनस्थलमा नाराबाजी भएको छ । 

निर्वाचन गर्न ढिलाई भएको भन्दै नाराबाजी भएको हो । यो क्षेत्र कांग्रेस नेता विजयकुमार गच्छदारको क्षेत्र हो । सहमतिमा नेतृत्व चयन गर्न गच्छदारले प्रयास गरेका थिए । सहमतिकै लागि मंसिर ६ गते हुनुपर्ने उम्मेदवारी मनोनयन रोकिएको थियो भने ७ गते हुनुपर्ने मतदान कार्यक्रम पनि हुन सकेको थिएन । हिजो मतदान हुनुपर्ने भएपनि रोकिएको थियो । आज पनि मतदान शुरु नभएपछि कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् ।

क्षेत्र नं ३ को सभापतिमा गच्छदार(संस्थापन) समुहबाट प्रदिप चौधरी र पौडेल कोइराला समुहबाट मेहेदी हुसैनको उम्मेदवारी छ । गच्छदार निकट सत्यनारायण मण्डलले पनि उम्मेदवारी दिएका छन् । हुसेनलाई सभापति बनाउने गरि दुवै पक्षबीच सहमति भइसके पनि स्थिति सामान्य हुन नसकेको एक महाधिवेशन प्रतिनिधिका उम्मेदवारले बताए । प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरु पनि सहमति हुँदा धेरै जना नसमेटिने भएकोले असन्तुष्ट भएको ती नेताको भनाई छ । 

congress-xetra-3

सभापतिका उम्मेदवार हुसेन विवाद मिलाउन छलफल भइरहेको बताउँछन् । हिजो राती विजय गच्छदारले महाधिवेसन प्रतिनिधिहरुमा सहमति गरेपनि नसमेटिएकाहरुले उक्त समहमति नमान्ने भनेपछि समस्या भएको उनले बताए । ‘हिजो राती विजय दाईले गढी, दुहबी र बर्जुका साथीहरुको लिष्ट बनाउनु भएको छ, त्यहाँ जसको नाम आएको छैन, उहाँहरु मानिरहनु भएको छैन । क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नुपर्छ भनिरहेका छन्,’हुसैनले मोवाइल सम्पर्कमा भने,‘विवाद छ, त्यसलाई मिलाउन सल्लाह हुदैछ ।’