विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पुर्याउनु पर्नेमा जोड दिएका छन् ।

अभियानलाई गाउँ–गाउँमा पुर्याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने मन्त्री यादवको भनाई छ । मन्त्रालयको आयोजनामा आज विहान विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले यस्तो धारणा राखेका हुन् । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । 

निरन्तरको अभियानले लैंगिक हिंसा सँधैका लागि अन्त्य गर्न सकिने मन्त्री यादवले बताए । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान शुरुवात गर्दे विहान विराटनगरमा प्रभातफेरि निकालिएको छ । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाका लगायतकाको प्रभातफेरिमा सहभागिता रहेको थियो । 

womens1

देवकोटा चौकबाट शुरु र्यालीले बजार परिक्रमा गरि पुन: देवकोटा चौकमा आएर समापन भएको थियो । अभियान अन्र्तगत आज साँझ ५ वजे ट्राफिक चौकमा दीपप्रज्वलन गरिने कार्यक्रम तय गरिएको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् । उनका अनुसार १६ दिन भरि नै जनचेतनामुलक विविध कार्यक्रम सञ्चालन हुने छ । 

साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।