धरान: चोरी मुद्दामा अदालतबाट कैद र जरिवाना गर्ने फैसला गरेपनि फरार रहेका धरानका एक युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौकका २८ बर्षीय गोफ्ले भनिने गोपाल गुरुङ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरि कैदा भुक्तानको लागी कारागार चलान पनि गरिसकेको जनाएको छ । गुरुङलाई चोरी मुद्दामा सुनसरी जिल्ला अदालतले २०७६ जेठ ९ गते ८९५९ लगनमा ५९ हजार ९०६ जरिवाना गरेको थियो । यस्तै, लगत नं. ८९६० मा २ महिना कैद र १७ हजार जरिवाना, लगत नं ८९६१ मा ८ महिना कैद र ५३ हजार जरिवानाको फैसला गरेको थियो । 

अदालतले कैद र जरिवाना फैसला गरेपनि गुरुङ भने फरारको सुचीमा थिए । कैद तथा जरिवाना असुल गर्न बाँकी रहेका गुरुङलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको टोलीले हिजो बिहिबार पक्राउ गरेको हो । उनलाई प्रहरीले सुनसरी जिल्ला अदालतमा दाखिला गरेर कैद भुक्तानको लागी कारागार चलान गरेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।