धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला सभापतिमा दुई जनाले मनोनयन दर्ता गरेका छन् । 

जिल्ला अधिवेशनको क्रममा शनिबार रामचन्द्र पौडेल-शेखर कोइराला समुहबाट सभापतिमा केदार भण्डारीले मनोनयन दर्ता गराएका छन् भने संस्थापन देउवा समुहबाट सञ्जयप्रसाद श्रेष्ठले सभापतिमा मनोनयन दर्ता गरेका छन् । दुवै उम्मेदवारले प्यानल उम्मेदवारी दिएका छन् । 

भण्डारीको प्यानलबाट उपसभापतिमा नगेशचन्द्र राई र पंकजकुमार महतोले मनोनयन दर्ता गरेका छन् भने सचिवमा पर्वतकुमार पोख्रेल र माधवबहादुर घिसिङले उम्मेदवारी दिएका छन् । यो प्यानलबाट सहसचिवमा गिरधारीप्रसाद साह र सुनिल कुमार साहले मनोनयन दर्ता गरेका छन् । 

श्रेष्ठको प्यानलबाट उपसभापति गफार अन्सारी मियाँ र महेश दत्तको मनोनयन परेको छ भने सचिवमा रञ्जेश भट्टराई र विरेन्द्रकुमार साहको मनोनयन दर्ता भएको छ । यो प्यानलबाट सहसचिवमा गणेश सुब्बा र मनिषकुमार रायको मनोनयन दर्ता भएको छ । 

प्यानलबाहेक पनि सचिवमा रमेश पालले पनि मनोनयन दर्ता गराएका छन् भने सहसचिवमा कालुराम चौधरी र रमेश कटवालले पनि मनोयन दर्ता गराएका छन् । उपसभापतिमा मनोनयन दर्ता गराएका २ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । तर, सचिव र सहसचिवमा मनोनयन दर्ता गराएका प्यानलबाहेकका उम्मेदवारले भने फिर्ता लिएनन् । 

जिल्लाको नयाँ नेतृत्व चयन गर्न आइतबार बिहान मतदान हुने मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । तर, प्राविधिक कारणवश केही समय ढिला मतदान शुरु हुनसक्ने पनि उनले बताए । उनका अनुसार निर्वाचनमा २९३७ जना मतदाता प्रतिनिधिहरु छन् ।