धरान: एमाले नेतृ एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा प्रस्ताव भएकी छिन् । 

चितवनमा जारी एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीले भण्डारीलाई केन्द्रीय सदस्यको सुचीमा अटाएका हुन् । उनी प्रदेश १ महिला कोटाबाट केन्द्रीय सदस्यमा समेटिएकी हुन् । आइतबार राती बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । ती नाम हलबाट अनुमोदन भएको थियो । यद्यपी, निर्वाचनको प्रक्रिया भने हुन बाँकी नै छ ।

नेतृ भण्डारी सुनसरी क्षेत्र नं १ बाट भने महाधिवेशन प्रतिनिधि छनौट भएकी थिइनन् । प्रतिनिधि हुने धेरै आकांक्षी भएपछि उनले महिला कोटाबाट उम्मेदवारी फिर्ता लिएकी थिइन् । उनलाई पार्टीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको थियो । विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ भण्डारी २०७४ सालको स्थानीय तह निर्वाचनमा धरानको उपमेयर भएकी हुन् । मेयर तारा सुब्बाको निधन भएपछि उनले करिब डेढ बर्ष कार्यवाहक मेयरको जिम्मेवारी पनि वहन गरेकी थिइन् । उनी एमाले सुनसरी जिल्ला अधिवेशन कमिटी सदस्य हुन् ।