धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई दैनिक प्रशासनिक र अनिवार्य दायित्वबाहेकका अन्य आर्थिक दायित्व सृर्जना हुने कार्य नगर्न पुनः निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले हिजो बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएका हुन् । मन्त्रीस्तरीय निर्णय र निर्देशन विपरीत काम, कारबाही भएमा त्यसबाट सृर्जना हुने आर्थिक दायित्वको जिम्मेवारी निर्णय गर्ने स्वयम पदाधिकारीको हुने पनि निर्देशनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई यस्तो निर्देशन दिएको यो तेस्रो पटक हो । यसअघि गत भदौ ५ गते सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले दैनिक प्रशासनिक र अनिवार्य दायित्व बाहेकका कार्य नगर्न भनेको थियो । निर्देशन विपरीत कार्य नरोकिएपछि पुनः दोस्रो पटक मन्त्रालयले पत्र पठाएको थियो ।
यस पटक भने मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालले प्रतिष्ठानलाई पत्राचार गदै सचेत गराएको छ । उपसचिव प्रकाश अधिकारीले पठाएको पत्रमा निर्देशन विपरीत आर्थिक दायित्व सृर्जना हुने कार्य भइरहेको उजुरी मन्त्रालयमा पुगेकोले त्यस्तो कार्य नगर्न पुनः बुधबार मन्त्रीस्तरीय निर्णय गरेर सचेत गराइएको उल्लेख छ ।
मन्त्रालयका अनुसार छानबिन समितिको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा सिनेट बैठकबाट निर्णय नभएसम्मको लागि यो निर्णय भएको हो । दैनिक प्रशासनिक र तलबभत्ता, पानी, बिजुली जस्ता अनिवार्य दायित्व सृर्जना हुनेबाहेक प्रतिष्ठानलाई आर्थिक दायित्व सृर्जना हुने कार्य गर्न नगर्न पत्रमा उल्लेख छ ।