धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विरामीको टिकट वितरणमा डिजिटल सेवा शुरुवात गरेको छ ।

प्रतिष्ठानले शुक्रबारदेखि एपमार्फत डिजिटल सेवा शुरु गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसनमार्फत विरामीले अनलाइन टिकट लिन सक्नेछन् । सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टोरबाट विपिकेआइएचएस एप्लिकेसन डाउनलोड गरेर एपबाटै टिकट काट्न सक्ने प्रशासनले जनाएको छ । यो प्रविधिले घण्टौ लाइनमा बसेर पुर्जी काट्नुपर्ने बाध्यताबाट विरामीहरुले छुटकारा पाउने अस्पतला निर्देशक प्रा.डा.गौरीशंकर साहले जानकारी दिए । 

उनका अनुसार यो सेवालाई विस्तार गरेर ल्याब परिक्षणका रिपोर्टहरु पनि अनलाइनबाटै हेर्न मिल्ने बनाइनेछ । यस्तै, पेइङतर्फको विरामीको नाम दर्ता पनि चाडै सञ्चालनमा ल्याउन निर्देशन दिइएको साहले बताए । यो सेवाको उपयोग गर्न बिरामीलाई सिकाउन टिकट काउन्टर भवनको बाहिरसहयोगी समेत राखिएको अस्पताल प्रशासनले जनाएको छ । 

शुक्रबार पहिलो दिन एक जना विरामीले अनलाइनमार्फत सेवा लिएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । विगतमा पनि एपमार्फत रिजष्ट्रेसन गरिन्थ्यो, तर अहिले उक्त सेवालाई थप परिष्कृत गरिएको छ । अहिले कुन विभागको कुन टिममा विरामी देखाउने भनेर छान्न सकिने गरि एप विकास गरिएको छ । अनलाइन रजिष्ट्रेसन भएको विरामी सिधै ओपिडीमा गएर डाक्टरलाई भेट्न सक्ने प्रबन्ध मिलाइएको सहप्रवक्ता डा.पोखरेलले बताए ।