मोरङ: विराटनगर महानगरपालिका ७ बाट प्रहरीले ४ जना विचौलीयालाई पक्राउ गरेको छ । 

आफुले कमिशन पाउने अस्पतालमा राम्रो चिकित्सक छ भन्दै लैजाने र कमिशन पाउने फार्मेसीमा औषधी किन्न बाध्य बनाउनेहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विराटनगर १९ का ४६ बर्षीय विनोद राय, बिराटनगर ५ का ६० बर्षीय रामा सुनुवार, ४५ बर्षीय दिलीप साह र विराटनगर १२ का ३९ बर्षीय शिव कुमार कामत रहेका छन् । उनीहरुले आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने गरेको र आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने गरेको प्रहरीले जनाएको छ । 

सर्वसाधारणहरुले विचौलियाबाट दुःख र हैरानी खेप्नु परिरहेको गुनासो प्रहरीमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्न प्रहरी टोली खटाएको थियो । सोही प्रहरी टोलीले मंसिर २९ गते ४ जना विचौलियालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।