धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो अप्रेसन थिएटरमा तोडफोड भएको छ ।
धरान १३ की २५ बर्षीय गर्भवती आस्था चौहानको अप्रेसनमार्फत प्रसुती गराउने क्रममा बच्चाको मृत्यु भएपछि तोडफोड भएको हो । मृतकका अभिभावकले अप्रेसन थिएटरको मुल ढोकाको सिसा तोडफोड गरेका हुन् । अहिले गाइनो अप्रेसन थिएटर क्षेत्रमा सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ ।
आफन्तजनका अनुसार चिकित्सकहरुको लापरवाहीको कारण बच्चाको ज्यान गएको हो । चिकित्सकले भने अनुसार नै गर्भवती आस्थालाई अस्पताल भर्ना गरिएको र व्यथाले च्यापेर गाह्रो भएपछि अप्रेसन गर्न आग्रह गर्दा पनि चिकित्सकहरुले वेवस्ता गरेको काका चित्र कार्कीले बताए । उनले भने,‘हिजोसम्म सबै ठिकै थियो । गाह्रो भएपछि अप्रेसन गर्न भन्यौ, सिनियर डाक्टरले हेरिदियोस् भन्यौ, तर सुनुवाई नै भएन । यहाँ एकदमै लापरवाही भयो, गैरजिम्मेवारपुर्ण व्यवहार गरियो ।’
आफन्त अनुषा कटवालले पनि गाह्रो भइसकेको कारण अप्रेसन गरिदन भन्दा पनि नगरिएको बताइन् । डाक्टर र नर्सहरुको बोली र व्यवहार पनि एकदमै नराम्रो भएको उनले बताइन् । ‘राम्रोसँग केही कुरा भनिदिदैनन्, डाक्टर आउदैछ मात्र भन्ने, के भएको छ पनि कसैले जानकारी नदिने,’उनले भनिन् ।
चिकित्सक भन्छन्, 'कर्ड कोल्याप्स भयो '
गाइनो विभागका चिकित्सकले भने कर्ड कोल्याप्स भएको बताएका छन् । विभागका चिकित्सक डा.मनोज साहका अनुसार बच्चा पहिला निस्केपछि मात्र साल र नाल निस्कनु पर्नेमा पहिला नाल निस्किएको थियो । ‘इर्मजेन्सी कन्डिसन भयो, नाल पहिला निस्कदा टाउकोले थिचिन्छ र रगत सञ्चार कम हुन्छ,’उनले भने,‘थाह पाउनुबित्तिकै अप्रेसन थिएटर लग्यौ, अप्रेसन गर्यौ तर बच्चा बचाउन सकेनौ ।’
डाक्टर साहका अनुसार कर्ड कोल्याप्स जसलाई पनि हुनसक्छ । आफन्तजनहरुले अप्रेसन गरिदिन भनेपनि अप्रेसन गर्नुपर्ने कारण नभै नगरिएको उनको भनाई छ । ‘अप्रेसन गर्नुपर्ने कारण थिएन । हाम्रो ओटि चौबिसै घण्टा चलिरहेकै हुन्छ,’उनले भने ।