धरान: कोशी राजमार्गअन्तर्गत इटहरीको हलगडामा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ । 

इटहरीबाट धरान जाँदै गरेको ट्रकको ठक्करबाट इटहरी ४ की ६२ वर्षीया देवी खड्काको मृत्यु भएको हो। कुखुरालाई चारो लिएर घर फर्किँदै गरेकी वृद्धालाई प्र १–०–२०० ख ८६५२ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी वृद्धालाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उनको बाटोमा नै मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालक तेह्रथुमको जिरीखिम्ति ६ का पेम्बा शेर्पालाई नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटना पछि स्थानीयले इटहरी धरान सडकखण्डमा टायर बालेर केहीबेर यातायात अवरुद्धसमेत गरेका थिए । केही समय पछि सडक खुलेको थियो ।