धरान: तमु (गुरुङ) जातिको तमु ल्होसारको अवसरमा सरकारले भोलि बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

ल्होसारको अवसरमा बुधबार मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो । अघिल्लो बर्ष ल्होसारसहित विभिन्न जातिहरुको पर्वको विदा कटौती भएपछि विरोध हुदै आएको थियो भने जातीय संघसंस्थाहरुले विदाको माग गर्दै आएका छन् । 

बुधबार गृहमन्त्रालयका उपसचिव शोभाखर रेग्मीले एक सुचना जारी गर्दै बिहिबार तमू ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदबाट निर्णय भएको जानकारी गराएका छन् । 

प्रदेश १ का मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना व्यक्त

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् । मुख्यमन्त्री राईले तमु ल्होसारका अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ(तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुवातको रुपमा मनाउने गर्दछन् । मुख्यमन्त्री राईले नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गर्दै यो कुरालाई नेपालको संविधानले स्वीकार गरेको पनि उल्लेख गरेका छन् ।

‘त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो’ मुख्यमन्त्री राईले शुभकामना सन्देशमा भनेका छन् । उनले हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । 

Tamu-lohsar_release