धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई कारबाही गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकरात्मक देखिएका छन् ।
डा.गोविन्द केसीका मागको सम्बन्धमा प्रतिष्ठानका सुद्धिकरण आन्दोलनकर्मी, मानवअधिकारकर्मी, अधिवक्तालगायतको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवा प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न सकरात्मक देखिएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा सहभागी प्रतिष्ठानस्थित संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले भने, 'प्रधानमन्त्री पनि वीपीका पदाधिकारीहरुलाई कारबाही गर्नुपर्छ भन्नेमा नै हुनहुन्छ । तर कानुनी प्रक्रियाको जटिलता छ भन्नु भयो ।'
डा.पोखरेलका अनुसार प्रधानमन्त्री देउवाले कानुनीरुपमा देखिएको जटिलतालाई फुकाउन स्वास्थ्यमन्त्रीलाई तत्काल निर्देशन दिने प्रतिवद्धता पनि भेटमा दिएका छन् । उक्त भेटमा डा.केसीका मागहरु सम्बोधन गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता रहेको र प्रतिष्ठानको बिषय प्रमुखताका साथ उठेको डा.पोखरेलले बताए ।
प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) अनुसार कारबाही गर्न गठित छानबिन समितिले उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित पदाधिकारीहरुलाई बर्खास्त गर्न सिनेट बैठक राख्न सिफारिश गरेको थियो । समितिको प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि सिनेट बैठक बस्न नसकेको छैन । छानबिन समितिको प्रतिवेदन सिनेट बैठकबाट बहुमतले पारित भएपछि मात्र पदाधिकारीहरु बर्खास्त हुन्छन् ।