सुनसरी: राष्टिय जागृति क्लब र धरान फुटबल क्लब सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेको हो । यो संगै जिल्ला लिगको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब पहिलो सेमिफाइनल खेल धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रबीच बिहिबार हुनेछ भने सोही दिन राष्टिय जागृती क्लबले धरानको गोधुली फुटबल क्लबसंग दोस्रो सेमीफाइनल खेल्नेछ ।
इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा राष्टिय जागृती क्लबले लगातार तेस्रो जीत निकाल्नेक्रममा धरानको टेम्के क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । राष्ट्रिय जागृति समुहको शिर्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो । उसको जितमा म्यान अफ द म्याच निकेष तामांगले खेलको २१ औं मिनेटमा गोल गर्दा स्मित तामांगले २५ औं मिनेटमा गोल गरे ।
मंगलबार नै भएको दोस्रो खेलमा धरान फुटबल क्लबले इटहरी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै समुह उपबिजेता भएरर सेमिफाइनल प्रवेश गरेको छ । धरानको जितमा सुगम जीमी र रिवश मास्केले एक–एक गोल गरे । जीमीले खेलको १९ औ र मास्केले २९ औं मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच रिवश मास्के घोषित भए । उनलाई प्रेस युनियन सुनसरीका सचिव बिबेक भटराई र समाजसेवी तीर्थ पराजुलीले नगद १ हजार ५ सय र मेडल प्रदान गरे । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ ।