धरान: धरान प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच कविता पुरस्कृत भएको छ । 

धरान डे उत्सवको अवसरमा आयोजित गोष्ठीमा पाँच भाषाका कविता उत्कृष्ट ठहरिएको हो । उत्कृष्ट घोषित कवितालाई जनही नगद ७ हजार ५ सयको दरले पुरस्कृत गरिएको थियो । प्रज्ञा प्रतिष्ठानले हरेक बर्ष बहुभाषिक गोष्ठी आयोजना गर्दै आएको छ । यो बर्ष धरान स्थापना दिवसको अवसरमा नै गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा प्रर्मिला मुकारुङद्धारा लिखित वान्तवा भाषाको गाउँमा अचेल, सेम्माङ याक्खाद्धारा लिखित याक्खा भाषाको समावेशी गीतहरु, इन्दु योञ्जनद्धारा लिखित तामाङ भाषाको बहुभाषिक सुन्दरता, प्रदिप मेन्याङ्बोद्धारा लिखित माङ्गेना र भोजराज श्रेष्ठद्धारा लिखित छेपारे प्रवृत्ति कविता उत्कृष्ट ठहरिएको थियो । विजेता कविहरुलाई उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, आयोजक प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फे, साहित्यकार डा.गोपाल भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए । 

गोष्ठीमा कवि वम देवान, महानन्द तिम्सिना र हर्ष सुब्बा निर्णायक थिए । गोष्ठीमा विभिन्न ११ जातिको भाषामा लेखिएका कविताहरु वाचन गरिएको थियो । कविहरुले आफ्नो जातिय भाषा र नेपाली भाषामा पनि उल्था गरेर कविता वाचन गरेका थिए ।  यस्तै, अप्रतियोगी कविहरुले पनि कविता वाचन गरेका थिए ।

   kabita3

kabita1

kabita2