धरान: अहिले समयमा ईश्वररुपी मानिस वा महामानव हुँ भन्दा पत्यार लाग्छ !? देवलोकबाट देवता र देवीहरु पृथ्वीमा आएर तपाईलाई दर्शन दिएको पत्याउनु हुन्छ !?

तपाईलाई पत्यार नलागेर के गर्नु ? सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी जलपाई चोकमा हाल बस्दै आएका टिकाप्रसाद विश्वकर्माले आफुलाई दैवीशक्तियुक्त महामानव र इश्वरकोरुप भएको बताउदै आएका छन् । उनलाई विश्वास गर्ने भक्तजनहरुलाई सप्तकोशी नदीमा राती लगेर देवलोकबाट देवी देवता प्रकट गराएर दर्शन गराउने गरेका छन् । यसरी ठगिनेमा धरान जस्तो आधुनिक, शिक्षित सहरका थुप्रै मानिसहरु रहेछन् । 

पहिला विश्वास गरेर सुनचादी, पैसा मागे जति दिएका धरानका ती पुर्वभक्तहरुको महामानव भनिएका विश्वकर्मासँग त्यतिबेला मोह भंग भयो, जब उनले देवलोकबाट आएको भनिएका व्यक्तिहरु बाटोमा भेटिन थाले । देवलोकमा पैसा, सुन आवश्यक पर्यो भन्दै भक्तजनहरुसँग संकलन गरेर हिडेका महामानव विश्वकर्मा ३ महिना पुख्यौली घर भोजपुर गएको पनि पत्ता लगाए । त्यसपछि आफुहरु ठगिएको भन्ने महसुस गरेर ती भक्तजनहरु उनको विरोधमा उत्रन थाले । उनीहरु प्रहरीमा पुगे, सिडिओ कार्यालय पुगे, तर ठगी र ठगहरुविरुद्ध कारबाही गर्न मानेनन् । त्यसपछि बाध्य भएर पीडितहरुले बिहिबार धरानमा पत्रकार सम्मेलन गरेर महामानव भनिएका विश्वकर्मा र उनको टोलीको ठगीबारे सार्वजनिक गरे । 

mahamanav-thagi1

पीडित मध्येका एक धरान ८ का सीताराम मल्लले बहिनीको उपचार गर्न जादा आफु पनि भ्रमित भएको र विश्वासमा परेर धेरै धनसम्पत्ति गुमाएको बताए । उनका अनुसार पछिल्लो ९ महिना यता शंका लागेर सुक्ष्मढंगले खोजबिन गर्दा कोशी नदीमा प्रकट हुने देवी देवताहरु देवलोकबाट आएका वास्तविक देवी देवता नभै महामानव भनिएका विश्वकर्माकै भाईभतिजा, आफन्तहरु भएको पत्ता लागेको थियो । त्यसपछि आफु र अन्य भक्तजनहरुले विरोध गर्न थालेपछि मार्ने धम्कीसमेत आएको उनले बताए । 'धेरैलाई ठगी गरिरहेको छ । धरान, काठमाण्डौं, र विदेशीहरुलाई पनि यसरी नै ठगेको छ,'मल्ले भने,'देवी देवता दिउँसो देखाउदैन, राती मात्र कोशीमा लगेर देखाउछ ।'

भिडियो:

    श्रीमति विरामी भएपछि केन्द्रमा पुगेका पटेल सिंहले पनि आफु ठगिएको भन्ने अहिले मात्र महसुस भएको बताए । यस्तै, शान्ति लामिछानेले आफुलाई पनि राती कोशीमा लगेर मसानहरु देखाएको बताइन् । पछि श्रीमानको मृत्यु हुने बेला भएको भन्दै आयु थप गर्न सुनचादी र पैसा मागेको बताइन् । 'सुनचादी र पैसा बुझाएपछि श्रीमानको आयु जोडिएर ७८ बर्ष पुगेको भनेको छ,'उनले भनिन्,'मैले पहिला विश्वासमा परेर आमाको गरगहना पनि बेचेर १ कट्ठा जमिन पनि किनदिएको छुँ ।' 

केन्द्रका सचिव भन्छन्, 'उहाँलाई इश्वरकोरुप मानेका छौ'

महामानव बताउने विश्वकर्मासँग फोन सम्पर्क गर्न प्रयास गर्दा उनले रिसिभ गरेनन् । केन्द्रका सचिव भुपेन्द्र खतिवडाले भने विश्वकर्मालाई आफुहरुले ईश्वरको रुप मानेको प्रतिक्रिया दिए । विश्वकर्मामा दैवि शक्ति भएको र ईश्वरले गर्नसक्ने सबै काम गर्ने पनि उनले दाबी गरे । 'ईश्वरले गर्ने सबै काम गर्नुहुन्छ, ईश्वरमा हुनुपर्ने गुण सबै उहाँमा छ,'मोवाइल सम्पर्कमा उनले भने ।

सर्वसाधारणहरुलाई ठगी गरेको आरोपमा भने उनले अस्वीकार गरे । ठगी गरेको आरोप लगाउनेहरुलाई पहिला ठगी नलाग्ने तर चित्त नबुझे पछि मात्र ठगी लाग्न थालेको भन्दै उनले झुटो आरोप भएको बताए । उनले भने, 'उहाँ घरपरिवार त्यागेर यहाँ आएर बस्नु भएको हो । जसले ठगी गर्यो भन्दैछन्, उनीहरु नै ठग हुन् ।'