धरान: धरानको चर्चित फुटबल प्रतियोगिता गोधुली रनिङ कपको २२ औं सँस्करणको विजेता र उपविजेता टोलीले आयोजकले दिएको नगद पुरस्कारभन्दा बढी नगद पाउने भएको छ ।
आयोजक गोधुली क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै नगद पुरस्कार राशी वृद्धि गरिएको जानकारी दिएको छ । तर, विजेता र उपविजेताले आयोजकले वृद्धि गरेर दिएको नगद पुरस्कारमा थप २५ २५ हजार नगद पाउने क्लबले जानकारी दिएको छ । क्लबका उपाध्यक्ष सतिस केसीले प्रथम हुने टोलीलाई नगद १ लाख ५० हजार र उपविजेता टोलीलाई नगद ७५ हजार पुरस्कार दिने बताए ।
आयोजकले घोषणा गरेको यो नगद पुरस्कारमा धरानको वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र उनका बुबा हाल बेलायत निवासी ध्यानबहादुर राईले दुवै टोलीलाई थप २५ २५ हजार दिने पनि उपाध्यक्ष केसीले बताए । ‘आयोजकले विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगद पुरस्कार दिने हो, तर १८ नम्बर वडा अध्यक्ष र उहाँको बुबाले दुवै टोलीलाई थप २५ २५ हजार दिने भन्नुभएको छ,’उपाध्यक्ष केसीले भने ।
यो हिसाबले विजेता टोलीले कुल १ लाख ७५ हजार र उपविजेता टोलीले १ लाख रुपैया नगद पुरस्कार पाउनेछन् । गत बर्ष आयोजकले विजयी टोलीलाई १ लाख ११ हजार १ सय ११ रुपैया र उपविजेता टोलीलाई ५५ हजार ५ सय ५५ रुपैया दिएको थियो ।
प्रतियोगिता भोली पुष २४ गते शनिबारदेखि धरान १६ स्थित रंगशालामा शुरु हुदैछ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको पनि आयोजकले जनाएको छ । प्रतियोगितामा धरानको सबै २० वटै वडाको टिम सहभागी हुने निश्चित भइसकेको छ । गत बर्ष वडा नं २ बाहेक अन्य १९ वटा वडाको टिम सहभागी भएको थियो । प्रतियोगितामा धरानको वडा कार्यालयहरुले आफ्नो वडाका खेलाडीहरु समेटेर फुटबल टिम तयार गरी सहभागिता गराउने गरेको छ ।
टप ८ टोलीले सुपर ८ प्रतियोगिता खेल्न पाउने
यो बर्ष गोधुली रनिङ कपको क्वार्टर फाइनल खेल्ने ८ टोलीले यो बर्ष बिशेष अवसर पाउनेछ, त्यो हो सुपर ८ प्रतियोगिता । धरान उपमहानगरपालिकाले गोधुली कपको उत्कृष्ट ८ टोली समेटेर स्वर्गीय सुवास राई स्मृति सुपर ८ प्रतियोगिता शुरु गर्ने तयारी गरेको छ । उपाध्यक्ष केसीले भने,‘सुवास दाईको स्मृतिमा सुपर ८ टुर्नामेन्ट आयोजना हुन्छ, त्यसमा गोधुली रनिङ कपको टप ८ टोली सहभागी हुन पाउनेछन् । यो धरानको खेलकुद र खेलाडीहरुको लागि उत्साहजनक कुरा हो ।’
स्वर्गीय राई गोधुली क्लबको संस्थापक हुन् भने गोधुली रनिङ कपका परिकल्पनाकार र शुरुवात गराउने व्यक्ति हुन् । उनी वडा नं १७ मा दुई कार्यकाल वडाअध्यक्ष भएका थिए भने गएको २०७४ सालको स्थानीय तह निर्वाचन पछि एमालेबाट नगर कार्यपालिका सदस्य भएका थिए भने नगर खेलकुद विकास समितिको संयोजक पनि थिए । उनको यसैबर्ष निधन भएको थियो ।