धरान: प्रदेश १ को विभिन्न जिल्लामा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने भीरबाट लडेर थप एकले ज्यान गुमाएका छन् । 

१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा थप २ जना घाईते भएका छन् । हिजो सवा ४ बजे सुनसरीको दुहबी नगरपालिका १० बुद्ध चोकस्थित ईनरुवा-दुहबी सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा घाईते भएका मोटरसाईकलमा सवार दुहबी ११ तनमुनाका २८ बर्षीय जित नारायण उरावको बिराट नर्सिंह होममा उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, अर्का मोटरसाईकल सवार रंगेली नगरपालिका ९ का ३० बर्षीय भिम प्रसाद उराव घाइते छन् । उनको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक र ट्रक चालक उदयपुर कटारी नगरपालिका ५ का २४ बर्षीय सागर मगर ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

यसैगरी हिजै बेलुका साढे ५ बजे उदयपुर त्रियुगा नगरपालिका ४ बगाहा स्थितमा गाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २ -०१-००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाईकल चालक त्रियुगा नगरपालिका ५ देउरी का ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार ३१ बर्षीय दिलिप दुलाल घाईते भएका थिए ।

दुवैलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये दिलिप दुलालको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाईतेको उपचार भईरहेको छ। ट्रिफर र ट्रिफर चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३६ बर्षीय मेख बहादुर राउत जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भीरबाट लडेर एक जनाको मृत्यु

पाँचथरको फालेलुङ गाउँपालिका ७ फर्तिमा टोलका ३५ बर्षीय राज कुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।  हिजो बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर तामाङ घाइते भएका थिए ।

उनलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।