विराटनगर: नोवेल मेडिकल कलेज विराटनगरमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप हुँदा अस्पताल तोडफोड भएको छ । 

आइतबार दिउँसो आन्दोलनरत विद्यार्थी र नोवेलका सुरक्षा गार्डबचि झडप भएको हो । झडपको क्रममा अस्पताल प्रवेश गर्ने मुख्य ढोकाको सिसा फुटेको छ । आन्दोलनरत विद्यार्थीहरु अनसन बस्ने क्रममा गार्डहरुले रोक्न खोजेपछि झडप भएको हो । झडपमा केही विद्यार्थी र केही सुरक्षा गार्डहरुलाई सामान्य चोट लागेको बताइएको छ । विद्यार्थीहरूविरुद्ध मेडिकल सञ्चालक र कर्मचारीहरुले पनि नाराबाजी गरेका थिए । उनीहरुले गरि खान देऊँ भन्दै नाराबाजी गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ । 

अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षा गार्डहरुले आक्रमण गर्न थालेपछि प्रतिकार गर्नुपरेको एक विद्यार्थीले बताए । कलेजका निर्देशक राजेश नेपाल भने बाहिरका मानिसहरूले विद्यार्थीको नाममा घुसपैठ गरेर अस्पतालमा तोडफोड गरेको दाबी गरेका छन् । उक्त घटनाको कारण दिउँसो करिब २ घण्टा अपतालको सेवा ठप्प भएको पनि उनले बताए । 

 कलेजमा भर्ना भएका ९६ जना विद्यार्थी मध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई कलेज प्रशासनले पठनपाठन गराइरहेको छ। विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी अतिरिक्त शुल्क बुझाउन कलेज प्रशासनले दबाब दिएको र कक्षाबाट निकालेको कारण आन्दोलन गर्नुपरेण्को बताएका छन् । कलेजले आयोगले तोकेको भन्दा २० लाख बढी शुल्क तिर्न विद्यार्थीहरुलाई दबाब दिइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरीसमेत परेको छ ।