धरान: धरानको पुरातत्व, इतिहास, पर्यटन र धार्मिक सम्पदा रहेको विजयपुरस्थित दरवार क्षेत्र र मन्दिरहरुको सम्बद्र्धनाा लागि उपमहानगरपालिकाले गुरुयोजना तयार गरेको छ । 

धरानलाई खेलकुदको शहर बनाउने, मासु व्यवसायलाई वैज्ञानिक रुपमा व्यवस्थित गर्ने गुरुयोजना पनि तयार भएको उपमहानगरले जनाएको छ । महत्वकांक्षी रहेका यी गुरुयोजनाहरु दिर्घकालिन र अल्पकालिन रहेको छ । यी गुरुयोजनाहरु कार्यान्वयन भए धरानको विकासमा कोसेढुंगा हुने उपमहानगरपालिकाले जनाएको छ । 

आइतबार गुरुयोजनाहरुको प्रारम्भिक मस्यौदामाथि सरोकारवालाहरुसंग छलफलको लागि सार्वजनिक गरिएको थियो । गुरुयोजनामा स्पोर्ट सिटी र कभर्ड हलको गुरुयोजना जेभी अफ ग्राइड कन्सल्ट प्रालि र इन्नोभेसन डिजाइन कन्सर्न प्रालिले तयार गरेको हो । यस्तै, भक्तराज कन्दङवा क्रिकेट स्टेडियम र पशु बधशालाको गुरुयोजना जेभी अफ आरआइडी प्रालि र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, अर्बन प्लानिङ एण्ड डिजाइन कन्सल्टेन्ट नेपाल प्रालिले तयार गरेको हो । 

यस्तै, विजयपुर दरबार तथा दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरको गुरुयोजना आइइआरसी इकोकेड स्ट्रेन्थ जेभीले तयार गरेको उपमहानगरले जनाएको छ । मेयर तिलक राईले धरानको ऐतिहासीक, धार्मिक सम्पदाको सम्बद्र्धन गर्दै व्यवस्थित शहरकोरुपमा उचाई थप्न गुरुयोजनाहरु तयार गरिएको बताए । ती योजनाहरुबारे सरोकारवाला समुदायसंग छलफल गरिने पनि उनले बताए । महत्वकांक्षी योजना कार्यान्वयन तिनै तहका सरकारको साधान श्रोत जुटाएर गर्न सकिने उनले बताए । 

योजनाहरु मध्ये कतिपय उपमहानगरपालिकाको बहुवर्षिय योजनाको रुपमा प्रारम्भिक चरणका कामहरु भैरहेका छन् । धरान–१५ स्थित भक्तराज कन्दङवा क्रिकेट स्टेडियम निर्माणस्थल सम्याउने कार्य अन्तिम चरणमा पुगेको छ । यस्को गुरुयोजना तयार भएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने क्रिकेट स्टेडियममा जग्गाको कारण दर्शक क्षमता २५ सय मात्र रहने भएकाले योजनालाई परिमार्जन गरी सुविधानहरु थप्ने सुझाव दिइएको छ । 

क्रिकेट स्टेडियमका साथै धरानलाई खेलकुदको शहरु बनाउने सम्भावनाको मार्गचित्र पनि तयार गरिएको छ । भएका पूर्वाधारमा सुधार थप पुर्वाधारको निर्माण पहिचान गरिएको छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रिय स्तरका खेलकुद प्रतियोगीता एकै साथ धरानमै आयोजना गर्न आवश्यक पूर्वाधारहरुको बारेमा मार्गचित्र बनाइएको हो । पूर्वाधारको प्रारम्भिक निर्माण कार्यका लागि धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरसंग जोडिएका जग्गामा खेलकुद ग्रामको गूरु योजना तयार गरिएको छ । दर्शक दिर्घा सहित सुविधायुक्त इण्डोर खेलको अत्याधुनिक कभर्ड हलको लागत करिब १३ करोड रुपया लाग्ने अनुमान गरिएको छ । 

धरानको पर्यटन गन्तव्य विजयपुर स्थित दरवारस्थल र प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरको मौलिक ऐतिहासीक रुपलाई सम्बद्र्धन गर्दै धार्मिक पर्यटनको केन्द्र बनाउने गुरुयोजना तयार गरिएको छ । पछिल्लो कालखण्डमा भएको भूकम्पले उक्त स्थलहरुको कमजोर बनाएको संरचनाको मर्मत सम्भारका गुरुयोजनामा किटान गरिएको छ । विकास मर्मत सम्भारको नाममा मन्दिरुहरुको मौलिक स्वरुपमा आएको परिवर्तनलाई थप विग्रन नदिने गरी सम्बर्धन गर्ने तथा तिर्थालुका लागि पर्याप्त परिवेश विकास गर्ने योजनामा उल्लेख छ ।

विजयपुरको किरातकालिन इतिहासमा उल्लेख भएअनुसार त्यस बेलाका राजाको दरवार, सैनिक गढीको अस्तित्व खोजी गर्दै विद्यमान अवस्थामा त्यस्लाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना पनि तयार गरिएको छ । ऐतिहासीक तथ्य अनुसार पञ्चकन्या जंगलको शिखरमा भग्नावशेष संरचना समेत रहेको स्थल त्यस बेलाको सैनिक गढी भएको योजनामा उल्लेख छ । उक्त गढीमा सैनिक सुरक्षाका लागि त्यस बेला राखिएको तोपहरु र शत्रुको निगरानी गर्न सैनिक बस्ने मचान निर्माण गर्ने योजना डिजाइन गरिएको छ ।

उक्त गुरु योजनामा छलफल हुँदा सहभागीहरुले पुरातात्विक महत्व समेत रहेको विजयपुरको इतिहासलाई सम्बर्धन गर्न समग्र विजयपुरलाई समेटेर छुट्टै गुरुयोजना बन्नु पर्ने विषयलाई पनि उठाएका छन् । विजयपुर स्थित धार्मिक र ऐतिहासीक स्थलहरुका लागि सरोकारवालाहरुको छुट्टा छुट्टै समिति बनाएर नीति निर्माण गर्न बारेमा पनि छलफल भयो । उपमहानगरपालिकाले विजयपुर विकास समिति गठन गर्ने सुझाव पनि सहभागीहरुले दिए । विजयपुरका पुरातत्विक महात्वका स्थल, वस्तुर र मुर्तिहरु नष्ट हुनेक्रम जारी रहेकोमा पनि ध्यानाकार्षण गराइएको छ ।  

गुरुयोजनाहरुकै क्रममा धरानको उपभोक्त बजारलाई बदलिदो समय, ऐन, कानुन अनुसार आधुनिक सेवा सुविधा उन्मुख गराउन प्रारम्भिक रुपमा मासु व्यवसायलाई वैज्ञानिक बनाउने योजना प्रस्तुत गरियो । धरान–६ स्थित प्रस्तावित औद्योगिक क्षेत्रसंगै स्वास्थ्यकर मासुका लागि पशु बधस्थल तथा मासु बजार निर्माण गरिने भएको हो । शहरीकरण संगै परम्परागत मासु बजारलाई आधुनिक बनाउने योजनामा पशुबध गर्नु अघि स्वास्थ्य परिक्षण, वैज्ञानिक तरिकाले पशुबध गर्ने र थोक तथा खुदरा मासु आपूर्ति गर्ने भौतिक सुविधाका संरचनाहरु डिजायन गरिएको छ ।  

गुरुयोजना प्रस्तुति र छलफलमा सरोकारवालाहरु जातिय तथा धार्मिक संस्थाहरुका प्रतिनिधि, राजनैनिक दलका स्थानिय नेतृत्वहरु, उद्योग वाणिज्य संघ, मासु व्यवसायी संघ, विज्ञहरु, उपमहानगरपालिकाका सल्लाहकारहरु सहभागी थिए । छलफलले आएका सुझाव, स्थलगत अध्ययन, सरोकारवाला संग थप छलफल गरी गुरुयोजनामा परिमार्जन गरिनुपर्ने निश्कर्ष निकालेको छ ।