धरान: धरानमा जारी २२ औं गोधुली टुबोर्ग रनिङ कपमा वडा नं १६ र १४ विजयी भएको छ ।
धरान १६ स्थित रंगशालामा सोमबार दुई खेलमा दुवै टोलीले जित हात पारेको हो । पहिलो खेलमा वडा नं १६ ले वडा १२ लाई ४–० गोलअन्तरले हरायो । वडा १६ को जितमा सरोज लकान्द्रीले ह्याट्रिक गरेका थिए । प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने क्रममा उनले पहिलो हाफको २५ औं, दोस्रो हाफको ५९ औं र ६७ औं मिनेटमा गोल गरेका थिए । खेलमा थप एक गोल मनिष बस्नेतले ७० औं मिनेटमा गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच ह्याट्रिक गर्ने सरोज घोषित भए । उनले नगद १५ सय हात पारे ।
यस्तै, दोस्रो खेलमा वडा नं १ लाई ३–० गोलअन्तरले हराउदै वडा नं १४ विजयी भएको छ । वडा १४ को जितमा विटु तामाङले ७ औं मिनेटमा गोलको खाता खोलेका थिए भने विपिन श्रेष्ठले २ गोल गरे । विपिनले खेलको ८४ औं र ८८ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच वडा नं १४ को सन्दिप राई घोषित भए । प्रतियोगितामा मंगलबारको पहिलो खेल वडा नं १३ र २ बीच दिनको १ बजे हुनेछ भने दोस्रो खेल वडा नं १८ र वडा ५ बीच दिउँसो ३ बजे हुनेछ ।