धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको नेतृत्व चयन गर्न हिजो भएको निर्वाचनको मतगणना शुरु भएको छ। 

एमाले सुनसरीको इनरुवास्थित पार्टी कार्यालयमा पदाधिकारीहरुको मतगणना शुरु भएको ७ औं अधिवेशन आयोजक कमिटीका प्रचारप्रसार सहसंयोजक रवि खनालले जानकारी दिए । उनका अनुसार सबै पदाधिकारी उम्मेदवारहरुको एक एक जना प्रतिनिधिको उपस्थितिमा मतगणना शुरु गरिएको छ । ‘हिजो विभिन्न ११ वटा बुथमा मतदान भएको थियो, आज एकै ठाउँमा मत खन्याएर मतगणना कार्य शुरु भएको छ, अहिले सटिङ गर्ने काम भइरहेको छ,’ खनालले भने । 

cpn-election

हिजो भएको मतदानमा १८०८ मत खसेको जिल्ला निर्वाचन कमिटीका सदस्य वीरेन्द्रबाबु बस्नेतले जानकारी दिए । उनका अनुसार कुल मतदाता संख्या भने २१५० थिए । 'सटिंग गर्ने काम सकेर पदाधिकारीको गणना शुरु गर्ने योजना छ, अब गणना शुरु हुनै लाग्यो,' बस्नेतले भने । हिजो दिउँसो करिब साढे १२ बजे शुरु भएको मतदान राती सवा ७ बजे मात्र सकिएको थियो । पुष २३ गते शुरु भएको एमाले सुनसरीको ७ औं अधिवेशनमा सहमतिबाट नेतृत्व चयन प्रयास असफल भएपछि हिजो निर्वाचत भएको हो । 

अध्यक्ष पदमा रेवतीरमण भण्डारी, खेमराज पोख्रेल र द्धारिकलाल चौधरीको उम्मेदवारी छ । यी तीन उम्मेद्वार मध्ये भण्डारी र पोख्रेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । दुवै संस्थापन पक्षकै भएपनि पोख्रेललाई १० बुँदे पक्षधरले समर्थन गरेको कारण उनी वलियो भएको अनुमान छ । एमालेका १० बुँदे पक्षले पोख्रेललाई सघाउने भएपछि संस्थापन पक्ष पनि दुई समुहमा बाँडिएका थिए ।