धरान: सुनसरी प्रहरीले भारतर्फ अवैधरुपमा लैजान लागेको सय किलो गाँजासहित ३ जना पक्राउ गरेको छ । 

प्रहरीले शनिबार राती करिब ८ बजे बर्जु गाउँपालिका ५ तिन मुहान दक्षिण शाखा नगर डिल हुदै भारततर्फ लैजादै गरेको गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो। 

सुनसरी प्रहरीले भारतको बिहार राज्यको कटहरिया जिल्ला देवीपुर १० का ५० बर्षीय जितेन्द्र राय, देबीपुर १९ का २६ बर्षीय मिट्ठु राय र पुर्णिया जिल्ला सरसीका १९ बर्षीय पंकज महलदारलाई गाँजासहित पक्राउ गरेको हो । उनीहरुले ५ वटा सेतो प्लाष्टिकको बोरामा सलको नाम्लो तथा काँधमा बोकेर लैजादै गरेको अवस्थामा पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । 

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम जिल्ला अदालतबाट म्याद थप लिइ आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।