सुनसरी: प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ । 

सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो । उपाधीसंगै पूर्वाञ्चलले नगद १ लाख रुपैया र शिल्ड हात पारेको छ भने उपबिजेता आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैयामा चित्त बुझाएको छ ।

सुनसरीको दुहबी ८ सोनापुरमा आयोजित फाइनलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा आयोजक क्लबको तर्फबाट उमेश कार्की, बिबेक पौडेल र दिपेश माझीले मात्र गोल गर्न सकेको थिए । बिक्रम राईको प्रहार युनाइटेडका गोल किपर रोशन कार्कीले बचाएका थिए भने सुबोध शाहीको प्रहार बाहिरिएको थियो । पुर्वाञ्चलका मिलन राई, सन्देश श्रेष्ठ, अशिम राई र सुजन चौधरीले गोल गर्न सफल हुदा आयोजक उपबिजेतामै सिमित बन्यो ।

IMG_3398

    त्यसअघि खेलको १२ औ मिनेटमा आयोजकका पारष लिम्बुले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ३५ औ मिनेटमा पूर्वाञ्चलका सुजन चौधरीले गोल गरेर खेल १–१ को बराबरीमा ल्याए । खेलको ५५ औ मिनेटमा आयोजकका राजु लिम्बुले गोल गरेर पुन आफ्नो टिमलाई २–१ को अग्रतामा पुर्याएको अवस्थामा त्यसको ५ मिनेट नबित्दै पूर्वाञ्चलका अरुण लिम्बुले गोल गरी खेललाई २–२ को बराबरीमा पुर्याए । त्यसपछी दुबै टिमबाट गोल नभएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 

           फाइनल खेलको म्यान अफ द म्याच पूर्वाञ्चल युनाइटेडका मिलन राई घोषित हुदै नगद २ हजार पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक मेमोरी युवा क्लबका उमेश कार्की घोषित हुदै नगद ५ हजार रुपैया पाए । बेष्ट गोलकिपर पुर्वाञ्चलका रोशन कार्की, मिडफिल्टर बिवश गुरुंग, कोच पवन प्रधान घोषित भए । 

आयोजकका बिकु राई बेष्ट डिफेन्स, सुजित चौधरी राइजिंग प्लेयर घोषित भए । उनीहरु सबैले जनही ३ हजार ५ सय रुपैया पाए । प्रतियोगितामा हाईस्कोर गर्ने पूर्वाञ्चलका अभिषेक कालिकोटे र डागीहाट फुटबल क्लबका आदर्श लिम्बुले जनही ४ हजार रुपैया पाए । सुनसरी र मोरंगका ८ टिम सहभागी गोल्डकप पुष २६ गतेदेखी सुरु भएको थियो ।