नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको सातौं जिल्ला अधिवेशन भब्य ढङ्गबाट ईनरुवास्थित जेल फिल्डमा सम्पन्न भएको छ। केन्द्रीय कमिटीको बैठकको निर्णय बमोजिम देशै भरीका जिल्ला कमिटिहरुको अधिवेशन पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले एकै पटक भर्चुअल माध्यमबाट २०८७ पुष २३ गतेका दिन उदघाटन गर्नु भएको थियो। पुष २३ गते उदघाटन भएका धेरै जिल्लाहरुका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भई सक्दा सुनसरीको भने बन्द सत्रको हलमा साङठनिक तथा राजनितिक प्रतिवेदन एवम आर्थिक प्रतिवेदनका विषयमा छलफल चल्दै थियो । ७७ वटा जिल्ला कमिटी मध्ये सुनसरीको जिल्ला कमिटीका सन्दर्भमा लामो समय विवाद रहेको कारणले पनि सम्पुर्णको ध्यान र चिन्ता रहेको थियो । 

सर्वसहमतिका निम्ति प्रयत्न गर्ने उदेश्यका साथ अध्यक्ष मण्डलले दुई दिनको समय प्रदान गर्दा सचिव र केही सदस्य पदमा मात्रै सहमती जुटेपछि निर्वाचनको कार्यसुची अघि बढाईएको थियो । २०७८ माघ २ गते पुर्ण रुपमा अधिवेशन सप्पन्न भएको छ। अधिवेशनका सन्दर्भमा केही चर्चा गरौ ।

अधिवेशन पुर्वको अवस्था

१) पुष ५, २०७७ पछि विभाजित जस्तो बनेको पार्टी कमिटीलाई केही समय अघि मात्रै विधानको ब्यवस्था बिपरीत विवाद समाधान गर्ने भनेर जम्बो आयोजक कमिटी निर्माण गरिएको थियो। जसमा १ अध्यक्ष, २ उपाध्यक्ष, २ सचीव, २ उपसचिव सहित सदस्य संख्या र ब्यक्ति यकिन नगरी रेवतीरमण भण्डारी र रमेश बस्नेत नेतृत्वको कमिटिका सबै सदस्य रहने गरी आयोजक कमिटी निर्माण गरिएको थियो। 

२) धरान उपमहानगर कमिटी र ईनरुवा नगर कमिटीको विवाद रहेको र अधिवेशनको मुखैमा मात्रै विवाद समाधान गरिएको भनेर आयोजक कमिटीले लेखी पठाएको थियो। 

३) जिल्लाको नेतृत्व गर्दै केन्द्रीय कमिटीको जिम्मेवारीमा रहनु भएको भीमप्रसाद आचार्य सचिवमा पराजित भई स्थायी कमिटीमा मात्रै जिम्मेवारी भएको र तत्कालीन जिल्ला इन्चार्ज धर्मराज निरौलाले पार्टी परित्याग गरेको अवस्था ।

४) जिल्ला पार्टी कार्यालयका सम्पुर्ण रेकर्ड र कागजात तत्कालीन कार्यालय सचिव र उपसचिवले अर्को पार्टिमा गए पछि फिर्ता नगरेको अवस्था रहेको थियो। 

५) केही माथिल्लो कमिटीका नेताहरुले आफ्नो ब्यक्तिगत जिम्मेवारीका विषयमा असन्तुष्टि राख्दै पार्टी र नेतृत्वप्रति नै अविश्वास रहेको र आन्दोलनबाट पनि बाहिरिन सक्नेसम्मको अवस्थाको सार्वजनिक अभिव्यक्ति दिईएको र अन्य पार्टीका मुल नेतृत्वसङ्गको अप्रासंगिक एवम् अप्राकृतिक भेटघाट सार्वजनिक भएको थियो।

अधिवेशनको तयारी

१) केन्द्रीय कमिटीको अपानी १ बमोजिम जिल्ला कमिटिको पुष ७ गते ॐ साई पार्टी प्यालेस, सखुवागाच्छी, ईनरुवामा बसेको बैठकले विभिन्न उपसमितिहरु निर्माण गरि एक मात्र अर्जुन दृष्टि पुष २३ को सातौ जिल्ला अधिवेशन सम्पन्न गर्ने दिशामा सम्पुर्ण पार्टी पंक्ति अघि बढेको ।

२) प्रतिनिधि छनौटलाई ब्यवस्थित ढंगबाट वडा र शाखा कमिटिको १७ पुषमा र २१ पुषभित्र सर्वसम्मत चयन गरि आयोजक कमिटीसहित कुल २१५० प्रतिनिधि छनौट गरिएको थियो। 

३) स्थानिय स्तरमा रहेका धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रहरू, विश्वमै दुर्लभ रहेको र हाम्रो जिल्लामा अवस्थित कोशी टप्पु बन्यजन्तु आरक्षमामा पाईने अर्नासहितको छुट्टै लोगो तयार गरि सार्वजनिक गरिएको थियो। प्रचार प्रसारका लागि स्वागत द्वार, ब्यानरहरु केही सिमित स्थानमा मात्रै राखी ईलेक्ट्रोनिक माध्यमलाई प्रयोग गर्दै अनलाइन, रेडियो, एफ एम, टेलिभिजन र सामाजिक संजाल लाई प्राथमिकतामा राखी प्रचारप्रसारको काम लाई अघि बढाईएको थियो। 

४) अधिवेशनलाई सकभर दिवा सत्रमा मात्रै सम्पन्न गर्ने गरि कार्यतालिका ब्यवस्थित गरिएको थियो। कार्यक्रमलाई मर्यादित बनाउन र ब्यवस्थापकीय कार्यलाई सहजताका साथ अघि बढाउन ३०० स्वयंसेवक परिचालन गरिएको थियो। 

५) ठूलो संख्यामा प्रतिनिधि भएको कारणले जटिलता हुन्छ कि भन्ने शंकाको सुविधा हुदाहुदै केही मानविय त्रुटी बाहेक प्रतिनिधि ब्यवस्थापनको कार्य कुशलतापुर्वक गरि बन्द सत्रको हल सन्चालन गर्न अध्यक्ष मण्डल र निर्वाचन कमिटीलाई सहजता प्रदान गरिएको थियो। 

चुनौती:

१) जम्बो आयोजक कमिटी र त्यो भन्दा बढी संख्यामा प्रतिनिधि छनौट गरि २१५० को संख्यामा अधिवेशन सम्पन्न गर्नु कठिन कार्य थियो।

२) विवाद समाधानका लागि भनेर निर्माण गरिएको आयोजक कमिटीले सर्वसम्मत प्रतिनिधि टुङ्गो लगाउनु वास्तव मै कठिन थियो।

३) दुई वटा सामरिक महत्व राख्ने नगर कमिटीको विवाद समाधान अधिवेशन कै मुखमा गरेर अधिवेशन सम्पन्न गर्न अर्को कठिन कार्य थियो। हिजोको विभाजित मानसिकताका कारण आएको फाटो कै बीचमा अध्यक्ष मण्डल, निर्वाचन कमिटी निर्माण लगायत कार्यहरु सहज ढङ्गले अघि बढाउनु अर्को चुनौती थियो।

४) अधिवेशन कै सन्निकटमा पुर्व इन्चार्ज लगायतले पार्टी परित्याग गरेको र कार्यकर्तालाई सम्हालेर राख्दै अधिवेशन सम्पन्न गर्नु अर्को चुनौतीको विषय थियो। 

५) जम्बो आयोजक कमिटीलाई १३५ सदस्यीय कमिटीमा रुपान्तरण गर्नु र समानन्तर कमिटीको अभ्यास लामो समय भएकै पृष्ठभुमिमा नेतृत्व निर्माण गर्ने विषय सर्वसम्मत वा निर्वाचन दुवै विधि चुनौतीपुर्ण थियो।

सन्देश:

uml

१) स्थायी गुटहरुको विगठनः

स्थायी प्रकृतिका गुटहरु विघटन भएको र पार्टी अब एकढिक्का भएर अघि बढ्ने प्रस्थान विन्दुकारुपमा ७ औं जिल्ला अधिवेशनलाई चित्रित गर्दै  सुनसरीमा एमाले एकताबद्ध रहेको सन्देश दिएको छ।

२) ब्यवस्थापनमा अब्बल:

ठूलो संख्याको प्रतिनिधि रहेको अधिवेशन पनि सहजै ब्यवस्थापन गरि राजनीतिक र ब्यवस्थापकीय कौशलता सुनसरीको पार्टी पंक्तिले गर्न सक्दो रहेछ भन्ने अर्को महत्वपूर्ण सन्देश दिएको छ। जुन एकताबद्ध पार्टीमा मात्रै सम्भव छ।

३) समावेशी र युवाहरुलाई प्रोत्साहन:

करिव २२ हजार पार्टी कार्यकर्ताको मर्म र भावनालाई प्रतिविम्बित गर्दै एकतिहाइ महिलाको उपस्थिति सुनिश्चित गर्दै, दलित, मधेशी, मुश्लिम, आदिवासी जनजातीहरुको उपस्थिति कमिटीमा गराउदै करिव १८ प्रतिशत युवाहरुको  (४० वर्ष मुनिका) प्रतिनिधित्व समेत सुनिश्चित गरि समावेशी र युवा मैत्री पार्टी निर्माण भएको सन्देश प्रवाह गरेको छ।

४)  अनुभवी र सक्षम नेतृत्व तथा सुदृढ संगठन:

पार्टीलाई आउदै गरेका तिनै तहका निर्वाचनमा पहिलो शक्तिकारुपमा अघि बढाउन बहुमत कार्यकर्ताहरुको रोजाईको अनुभवी र सक्षम नेतृत्व पंक्ति तयार गरि सशक्त संगठन निर्माण र परिचालन गरि अघि बढेको सन्देश प्रवाह गरेको छ।

५) फरक मतको सम्मान र नेकपाको निरन्तरता:

पार्टीमा मुलतः २०७७ पुष ५ पछि देखिएको समस्या र त्यसको प्रभाव स्वरुप धेरै नेता कार्यकर्ताहरु लाई पुर्वाग्रहका आधारमा हेरिन्छ भन्ने आशंकालाई पनि बन्दसत्रको हलले सम्पुर्ण रुपमा खारेज गरेको छ। हिजो मुलधारबाट अलग भएर हिड्ने कार्यकर्ताहरुको पनि जिम्मेवारीका सम्बन्धमा सकारात्मक पहलकदमी रहदै नेकपाको निरन्तरता नै नेकपा ९एमाले० हो भन्ने प्रतिबिम्बित गर्ने गरि कमिटी निर्माण गरि महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ।

आगामी कार्यभार:

१)  पार्टी कार्यकर्ताको ब्यवस्थापन:

कमिटीमा निर्वाचित हुन नसकेका वा उम्मेद्बारी नदिएका जम्बो आयोजक कमिटीमा रहेका कार्यकर्ताहरुलाई पार्टी काममा जोड्नु नवनिर्वाचित कमिटिको पहिलो र मुख्य कार्यभार रहेको छ। 

२) असन्तुष्ट पक्षलाई मुलधारमा ल्याउने र पार्टी प्रवेश अभियान:

समानान्तर गतिविधिमा रहेका तर पार्टी परित्याग नगरेका वा पार्टीले बेवास्ता गरेको अनुभुती गरेर बसेका नेताकार्यकर्ताहरुलाई काममा जोड्दै भर्खरै सम्पन्न १० औं राष्ट्रियय महाधिवेशन र केन्द्रिय कमिटिको निर्णय बमोजिम पार्टी प्रवेश कार्यक्रमलाई अभियानकारुपमा अघि बढाउनु दोश्रो कार्यभार रहेको छ। 

३) निर्वाचनमा श्रेष्ठता:

चार वटै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा एमालेका उमेदवार विजयी गराउनु तथा २०७४ को स्थानिय निर्वाचन र उपनिर्वाचनमा गुमेका ईनरुवा र धरानमा पुनः एमालेको झण्डा गाड्दै जिल्लाका १२४ वटै वडा, १२ वटै पालिकामा आसन्न स्थानिय तहको निर्वाचनमा बिजयी गराउन भुमिका खेल्नु तेस्रो महत्वपूर्ण कार्यभार रहेको छ। 

४) शिक्षा, स्वास्थ्य र जनशक्ति उत्पादनमा जोड:

स्वास्थ सङ्ग सम्बन्धित देश कै ठूलो शिक्षण संस्था बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा देखिएका समस्याहरुको हल गर्दै, केन्द्रीय प्रविधि क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर विध्यापिठ, पुर्वान्चल ईन्जिनियरिङ कलेज, इटहरीस्थित ठूलो पब्लिक क्याम्पस जनता क्याम्पस, ईनरुवा क्याम्पस, सप्तकोसी क्याम्पस लगायत शिक्षण सस्थाहरुको स्तरवृद्धि गर्दै गुणस्तरिय शैक्षिक जनशक्ति उत्पादनका निम्ति पहलकदमी लिने र निजि क्षेत्रलाई पनि ब्यवस्थित गरि अघि बढ्ने वातावरण सृजना गर्ने चौथो महत्वपूर्ण कार्यभार रहेको छ।

५) औद्योगिकरणका लागि उपयुक्त गन्तब्य निर्माण, रोजगारी प्रवर्द्धन र अर्थतन्त्रमा अगाडि:

औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र र ग्राम भएको जिल्लामा लगानी मैत्री वातावरण निर्माण गर्दै रोजगारी सृजना गर्दै मुलुकको अर्थतन्त्रमा सुनसरी जिल्लाको महत्वपूर्ण योगदान गर्ने अवस्था निर्माणका निम्ति पहलकद्मी लिने पाचौं महत्वपूर्ण कार्यभार रहेको छ।

६) सम्पदाहरुको संरक्षण र ब्राण्डिङ:

ऐतिहासिक,धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरु बराहक्षेत्र, कौशिकी नदी, कोशीटप्पु बन्यजन्तु आरक्ष, प्राचिन  बिजयपुर अवस्थित दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, पन्चकन्या, रामधुनी, बर्जु ताल, तालतलैया, रास ताल, भेडेटार, विष्णुपादुका लगायतका स्थलहरुको संरक्षण, प्रचार प्रसार र ब्राण्डिङ गरि पर्यटन र अर्थतन्त्र सङ जोड्ने योजनाका साथ अघि बढने छैटौं महत्वपूर्ण कार्यभार रहेको छ।

७) ब्यवसायिकीकरण र आय आर्जनमुखी कृषि:

कृषि कर्मका लागि प्रचुर सम्भावना बोकेको सुनसरी जिल्लाका भुभागहरुलाई खण्डिकरणबाट जोगाएर जोन र सुपर जोनका कार्यक्रमहरुलाई अघि बढाई कसरी आय र रोजगारी प्रवर्द्धन गर्ने भन्ने कार्यमा लाग्ने अर्को महत्वपूर्ण कार्यभार रहेको छ।