धरान: गत जेठमा धरानको सर्दु खोला उत्खनन् रोक्न जादा कुटपिट भएको घटनामा संलग्न २ जना पक्राउ परेका छन् भने अन्य २ जना फरार छन् ।

ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ईलाका प्रहरी कार्यालय धरानले सेते भनिने नरसिंह राई र जीवन राईलाई प्रहरीले पक्राउ गरेको हो । अन्य २ जना किरण राई र रविन राई भने फरार रहेकोले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनले भने, २ जना पक्राउ परेका छन् । अन्य २ जना घरगाउँमा छैनन्, उनीहरुको खोजी भइरहेको छ । 

प्रहरीका अनुसार पक्राउ सेते भनिने नरसिंहको सर्दु उत्खनन प्रकरणबाहेक अर्को पनि मुद्दा रहेको छ । अब उनीविरुद्ध २ वटा नै मुद्दा अघि बढ्ने प्रहरी निरीक्षक ओलीले बताए । उनले भने,‘अर्को पनि कुटपिट भएको घटनाको मुद्दा छ, अब २ वटा मुद्दा अदालतमा बुझाउछौ ।’

sardu2

सर्दु उत्खनन् प्रकरणमा कुटपिटबाट घाइते भएका राजेश राईसमेतले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दामा ४ जनाविरुद्ध पक्राउ पुर्जी अदालतबाट जारी भएको थियो । यसैबीच, समाजवादी युवा संघ प्रदेश नं १ समितिले फरार रहेका २ जनालाई पनि पक्राउ गर्न माग गरेको छ । समितिका प्रदेश अध्यक्ष श्री सुब्बाले विज्ञप्ती जारी गर्दै कसैको ज्यान मार्ने गरी कुटपिट गर्ने दोषीहरुलाई हदैसम्म कानुनी कारबाही गर्न पनि माग गरेका छन् । 

के हो सर्दु उत्खनन् प्रकरण ?

sardu3

पक्राउ परेका सेते भनिने नरसिंह राई नेपाली कांग्रेसका कार्यकर्ता पनि हुन् । खास गरि उनी युवाहरुको समुह परिचालन गर्ने गरेका छन् । गत जेठ २६ गते चुरे क्षेत्रमा पर्ने सर्दु खोलामा स्काभेटर प्रयोग गरेर जथाभावी भइरहेको उत्खनन् रोक्न राजेश राईलगायत व्यक्तिहरु पुगेका थिए । सर्दुसहित धरानका खोलाहरु उपमहानगरपालिकाले ठेक्का लगाएको थियो । 

खोलामा स्काभेटर लगाएर उत्खनन् भएपछि रोक्न पुगेको समुहलाई ठेकेदार र सेते(नरसिंह)का पक्षका युवाहरुले आक्रमण गरि घाइते बनाएका थिए । स्काभेटर, ट्रिपरलाई फर्काइरहेको बेला मोटरसाइकलमा आएका युवाहरुको समुहले गुण्डागर्दी शैलीमा ढुंगा, हेल्मेटलगायतले आक्रमण गरेका थिए । यो प्रकरणमा धरानका मेयर तिलक राईको पनि चर्को आलोचना भएको थियो ।

उपमहानगरपालिकाले धरानको सर्दु, सेउती र सेहरा खोला ४ करोड ९१ लाखमा ठेक्का लगाएको थियो । सेउती खोलामा वन र चुरे क्षेत्रमा पर्ने खोलामा उत्खनन् गर्न नदिने भन्दै वन कार्यालयले रोकेको थियो । त्यहाँ पनि धरानका मेयर, उपमेयर आफै तीन दर्जन नगर प्रहरी लिएर जर्बजस्ती उत्खनन् गराएपछि ठेकेदारको पक्षमा लागेको आरोप मेयर, उपमेयरलाई लागेको थियो ।