धरान: नेकपा एमालेले बहिष्कार गरेपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ ।

मेयर तिलक राईले कार्यपालिका बैठकको एजेण्डाबारे आवश्यक छलफल र समन्वय नगरेको भन्दै एमालेले बहिष्कार गरेको हो । एमालेको बहिष्कार पछि आज बिहान ८ बजे बस्ने भनिएको कार्यपालिका बैठक गणपुरक संख्या नपुगेको कारण स्थगित गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको बताए । उनले भने,‘गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ । बहिष्कार भन्ने जानकारी छैन, कति महाशाखा प्रमुख र जनप्रतिनिधिलाई पनि संक्रमण भएको छ ।’

उपमेयर मञ्जु भण्डारी सुवेदीले बैठकको एजेण्डाबारे आवश्यक समन्वय र छलफल नभएकोले बहिष्कार गरिएको बताइन् । कोरोना संक्रमण बढीरहदा कसरी नियन्त्रण गर्ने भन्ने बिषय पनि एजेण्डामा नराखिएको र दीर्घकालिन महत्वको एजेण्डाहरु पनि नभएकोले बहिष्कार गरेको बताइन् । उनले भनिन्,‘नगरपालिका आर्थिक संकटमा छ, आयस्रोत कसरी बढाउने भन्ने पनि ध्यान दिइएको छैन । कोरोना संक्रमण बढीरहेको छ, कसरी नियन्त्रण गर्ने भन्ने छेन । दीर्घकालिन महत्वको एजेण्डाबारे ध्यान छैन ।’ मेयर राईसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन रिसिभ गरेनन् ।