धनकुटा: श्रीमतिलाई हत्या गरि घरभित्रै गाडेको फेला परेपछि पक्राउ परेका श्रीमानलाई प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाले श्रीमति हत्या आरोपमा धनकुटा नगरपालिका ४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । श्रीमती ५५ बर्षीया सीता श्रेष्ठको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । गत पुष १६ गते बेलुका ५ बजेदेखि सीता श्रेष्ठ हराएको भन्दै निवेदन परेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजी कार्य शुरु गरेको थियो । 

खोजी अनुसन्धानको क्रममा श्रीमान समेत घरबाट हराएको जानकारी प्रहरीले पाएको थियो । यो जानकारी पाएपछि प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको थियो भने प्रहरी टोलीले सितारामलाई काठमाण्डौबाट माघ ९ गते पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परे पछि सोधपुछको क्रममा श्रीमतीलाई आफैले हत्या गरी घर भित्र नै गाडेको वयान दिएका थिए ।

उनको वयान पछि धनकुटाका प्रहरी उपरीक्षक(एसपी) सहितको टोलीले उत्खनन गर्दा सीताको शव घरभित्रै खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो । श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका श्रेष्ठलाई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भईरहेको धनकुटा प्रहरीले जनाएको छ ।