इटहरी: नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बिमा बापतको रकम हस्तान्तरण गरेको छ । 

मंगलबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बिमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासंघका सचिव ध्रुव ढकाललगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।

युनियनका अनुसार अघिल्लो बर्ष जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीहरुको दुर्घटना बिमा गरिएको थियो । ती मध्ये ३ जना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा रहेको सचिव भट्टराईले बताए । युनियनले अजोड इन्स्योरेन्समार्फत बिमा गरेको थियो । यसपाली पनि बिमा गर्ने तयारीमा रहेको उनले बताए । आफैं कार्यरत सञ्चार गृहले दुर्घटना बिमा गरिसकेको अवस्थामा दोहोर्याएर नहुने उनको भनाई छ ।

युनियनका अध्यक्ष पवन अधिकारीले यसवर्ष परिमार्जित योजना अनुरूप दुर्घटना बिमा गर्ने तयारी भएको बताए । ‘भरसक कसैको पनि दुर्घटना नहोस्, दुर्घटना भएको अवस्थामा केही भपनि राहत होस् भन्ने उदेश्यले बीमा कार्यक्रम अगाडि सारिएको हो,’उनले भने । यसबर्ष दुर्घटना बिमा गरिएका सञ्चारकर्मीहरू दुर्घटनामा परेको अवस्थामा मिडिया हाउसबाट पाइरहेको न्यूनतम पारिश्रमिक समेत पाउने योजना अनुसार बिमा गर्न लागिएको छ । पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटनामा परेर बसेको समयमा राहत महसुस हुनेगरी युनियनले दुर्घटना बीमाको योजना ल्याउनु सकारात्मक रहेको बताए ।