धरान: स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा पनि १२ देखि १७ बर्षका बालबालिकाहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
उपमहानगरपालिकाको स्वास्थ्य महशाखाका अनुसार माघ १६ गतेदेखि १९ गतेसम्म विभिन्न ४४ वटा केन्द्रमा बालबालिकाहरुलाई खोप लगाइनेछ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार विभिन्न विद्यालयमा खोप केन्द्र तोकिएको छ, र ती केन्द्रमा बालबालिकाहरुलाई मोर्डना खोप लगाइनेछ । उनका अनुसार एक दिनमा ११ वटा खोप केन्द्र रहनेछन् । स्वास्थ्य महाशाखाले खोप लगाउने तालिकासमेत शुक्रबार सार्वजनिक गरेको छ ।
चार दिनमा धरानका १८ हजार बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको मेहताले जानकारी दिए । चार दिनमा खोप लगाउन छुटेकाहरुलाई थप २ दिन धरान १२ स्थित पब्लिक माविमा खोप लगाइने पनि मेहताले बताए ।