धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाल मेडिकल काउन्सिलको टोली आएको छ ।
हाडजोर्नी विभागका डा.रोशनप्रसाद साह कलवारले निःशुल्क साइन नेल बिरामीलाई बिक्री गरेको र अप्रेशन थिएटरमा डाक्टरहरुबीचमा झगडा भएको अर्काे घटनामा छानबिन गर्न काउन्सिलको टोली प्रतिष्ठान आएको हो । काउन्सिलका सदस्य डा.हरिहर वस्तीको नेतृत्वमा शुक्रबार विज्ञसहितको ३ सदस्यीय टोली प्रतिष्ठान आएको थियो । काउन्सिल टोलीले दुई घटनाका सम्बन्धित डाक्टरहरुको वयान लिएको छ भने फाइल अध्ययन गरि आवश्यक कागजपत्र पनि लिएर शनिबार काठमाण्डौं फर्किसकेको छ ।
काउन्सिल सदस्य डा.वस्तीका अनुसार दुवै घटनाबारे सम्बन्धित व्यक्तिहरुको वयान लिइएको छ भने आवश्यक कागजपत्र पनि लिइएको छ । केही व्यक्तिहरु काठमाण्डौमा भएकोले वयान लिन बाँकी रहेको पनि उनले बताए । उनीहरुको वयान लिएर कागजपत्र अध्ययन गरि प्रतिवेदन बुझाउन एक साता समय लाग्ने उनले बताए ।
गत मंसिरमा डा.कलवारले गरिब विरामीलाई अमेरिकाबाट निःशुल्क आएको साइन नेल मेडिकलमार्फत पैसा लिएर एक विरामीलाई लगाइदिएको घटना सार्वजनिक भएको थियो । उक्त घटनापछि विभागले डा.कलवारलाई उनीसँग भएको साइन नेल स्टोर दाखिला नगरेसम्म अप्रेशनमा प्रयोग गर्न रोकेको थियो । यो घटना अस्पताल प्रशासन, प्रहरी र काउन्सिलमा पुगेको थियो ।
यस्तै, पुष २९ गते अर्का एक विरामीको अप्रेशन गर्ने क्रममा डा.कलवारसँग अन्य डाक्टरको विवाद भएको थियो । विभागले स्टोर दाखिला नगरेसम्म प्रयोग गर्न रोक लगाएको साइन नेल डा.कलवारले विरामीलाई लगाउन खोजेपछि डाक्टरहरुबीचमा विवाद भएको थियो । उक्त विवादले बिहान ९ बजे अप्रेशन थिएटरमा लगिएको विरामी बेलुकी ५ बजे मात्र निकालिएको थियो ।
डा.कलवारले विभागीय प्रमुख प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठको निर्देशनमा अप्रेशन थिएटरमा आफुलाई रोकिएको र विरामीको ज्यान जोखिम बनाएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका थिए । उनले निरन्तर विभागीय प्रमुख प्रा.डा.श्रेष्ठलाई आक्षेप लगाउदै सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि धरानका नागरिक अगुवाहरुले डा.कलवारले डा.श्रेष्ठको चरित्र हत्या गर्न खोजेको र राम्रा डाक्टरहरुलाई प्रतिष्ठानमा काम गर्ने वातावरण नभएकोप्रति चिन्ता प्रकट गरेको थियो ।
डा.कलवारको आरोपमा खण्डन गर्दे विभागीय प्रमुख डा.श्रेष्ठसहित, डा. बिक्रम लिम्बु, डा.अमित लिम्बु, डा.अमितकुमार साहलगायत रुटिन ओटी इञ्चार्ज, हाडजोर्नी अप्रेशन ओटी नर्सहरुले संयुक्त विज्ञप्ती जारी गरेका थिए । डा.कलवारले निःशुल्क साइन नेल विरामीलाई बेचेको सार्वजनिक भएपछि स्टोर दाखिला गर्न विभागले निर्देशन दिएको तर त्यसविपरीत ती विरामीलाई लगाउन खोजेपछि यसले गलत नजिर बस्ने भएकोले निर्मलीकरण गरेर तयार राखिएको अर्को नेल प्रयोग गर्न आग्रह गर्दा जर्बजस्ती विरामीलाई लगाइदिएकोले समस्या भएको दाबी गरेका थिए । डा.कलवारले जर्बजस्ती नेल लगाइदिदा गल्ती भएको र त्यसलाई सच्याउने क्रममा समय लागेको उनीहरुले विज्ञप्तीमा खुलाएका थिए । यो घटना पनि प्रहरी, अस्पताल प्रशासन हुँदै मेकिडल काउन्सिलसम्म पुगे पछि छानबिन गर्न टोली प्रतिष्ठान आएको हो ।