धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा एक जना झापा र अर्का सप्तरीका वृद्ध पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो बिहान ११ बजे सप्तरीको राजविराज १५ का ७५ बर्षीय वृद्धको कोभिड अस्पतालमा मृत्यु भएको थियो । 

मृगौलाका रोगी रहेका उनले कोभिडविरुद्धको खोप पनि लगाएका थिए । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

यसैगरि, आज बिहान ५ बजेर २५ मिनेटमा झापाको बुद्धशान्ति ३ का ७० बर्षीय वृद्धको पनि मृत्यु भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिएका छन् । मृतक उच्च रक्तचाप र मृगौलाको दीर्घरोगी थिए । उनले भने खोप लगाएका थिएनन् ।

माघ १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन भएको पनि प्रतिष्ठानले जनाएको छ ।