धरान: सुनसरीको बराहक्षेत्रमा एटिएम बुथ फुटाएर चोरी प्रयास गर्ने एक युवा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राती बराहक्षेत्र १० प्रकाशपुरमा रहेको एनआइसि एसिया बैंकको एटिएम बुथ फुटाएर चोरीको प्रयास गरिएको थियो । एटिएम बुथमा प्रवेश गरेर सिसि क्यामेराको तार काटेर चोरीको प्रयास भएको प्रहरीले जनाएको छ । 

प्रहरी टोलीले बराहक्षेत्र ९ का २७ बर्षीय सरोज राईलाई हिजो चोरी भएको क्यामेरासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नगद चोरी गर्न असफल भएपछि राई एटिएम कोठामा जोडिएको क्यामेरा चोरी गरेर फरार भएका थिए । उक्त घटनाको जारी पाएपछि असई संजिव अधिकारीको टोली अनुसन्धानमा खटिएको थियो । उनलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।