धरान: धरान उपमहानगरपालिकाको १० औं नगर सभा भोलि (शुक्रबार) हुने भएको छ । 

विपी प्रतिष्ठानको अडोटेरिएम हलमा शुक्रबार बिहान १० बजेदेखि नगर सभा सुरु गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो । यसअघि, नवौं नगर सभाबाट स्वीकृत आर्थिक ऐन २०७८ को दफा १७ मा भएको छुट सम्बन्धी व्यवस्थाको १ को ४ मा संशोधन गरि बहाल कर आगामी चैत्र मसान्तसम्म जरिवाना छुट हुने व्यवस्था गरेर नगर सभामा प्रस्ताव पेश गरिने भएको छ । 

यस्तै, चालु आर्थिक वर्षका लागि अनुमान गरेको आन्तरिक आय संकलन न्यून भएको र अनुमान गरे अनुसार संकलन हुने सम्भावना नरहेकोले आन्तरिक आयबाट खर्च हुने गरी स्वीकृत गरिएका कार्यक्रम तथा योजनाहरुमा १० प्रतिशत घटाएर नगर सभामा पेश गरिने निर्णय गरिएको छ । 

आधारभूत तथा माध्यमिक शिक्षा लगायत शैक्षिक कार्यक्रमहरुको व्यवस्थापन तथा संचालन गर्न आवश्यक ऐनको मस्यौदा तयार भई कानून मस्यौदा समितिबाट समेत सिफारिश भएकोले शिक्षा विधेयक २०७८ लाई कार्यपालिका बैठकले स्वीकृत गरेको छ भने उक्त विधेयकलाई नगर सभामा पेश गर्ने निर्णय पनि भएको छ । बैठकले सार्वजनिक सुनुवाई कार्यविधि २०७८ स्वीकृत गरेको छ भने पदाधिकारीहरुको आचार संहिता २०७८ स्वीकृत गरेको छ । यस्तै, सार्वजनिक नीजि साझेदारी विधेयक २०७८ नगर सभामा पेश गरिने निर्णय गरेको छ ।