धरान: धरान १५ स्थित होलिल्याण्ड स्कुलले अन्तर विद्यालय महिला पुरुष थ्री बाई थ्री बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्कुलले बुधबार धरान १० स्थित कफि पब एण्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दै फागुन ७ र ८ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगिता स्कुलको बास्केटवल कोर्टमा हुनेछ । स्कुलका प्रिन्सिपल राजकुमार लिम्बुका अनुसार कोरोना संक्रमणको कारण लामो समय विद्यालय बन्द भएको र विद्यार्थीहरुले पनि मानसिक तनाव भोग्नु परेकोले प्रतियोतिगा आयोजना गरिएको हो । प्रतियोगिताले विद्यालयहरुबीच आपसी सम्बन्ध र भाईचारा विकास गर्न मद्दत पुग्ने र विद्यार्थीहरुलाई पनि कोरोनाको मानसिक तनावबाट मुक्ति मिल्ने उनले बताए ।
विद्यालय स्थापनाको २५ औं बर्ष पुरा गरेको अवसरमा वृहत कार्यक्रम गर्ने योजना बनाए पनि कोरोनाको कारण सम्भव नभएको प्रिन्सिपल लिम्बुले बताए । प्रतियोगितामा विद्यालय र विद्यार्थीहरु उत्साहित भएर सहभागिता जनाए आगामी बर्षहरुमा पनि निरन्तरता दिइने उनले बताए ।
प्रतियोगिताका संयोजक एवं बास्केटवल खेलाडी नविन राईले धरान र आसपासको क्षेत्रबाट महिलातर्फ ९ टिम र पुरुषतर्फ १२ टिम सहभागीता जनाउने जानकारी दिए । महिला र पुरुष दुवै विधाका विजेताले मेडल, प्रमाणपत्रसँगै नगद ५ हजार पुरस्कार पाउनेछ भने कफि पब एण्ड फुडबाट १ हजार बराबरको भौचर पाउने । उपविजेताले नगद २ हजार ५ सय रुपैया र कफि पब एण्ड फुडबाट ५ सय रुपैया बराबरको भौचर पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ हजार र ५ सय रुपैया बराबरको कफि पव फुड भौचर, ५ सय रुपैया बराबरको ज्वाई खाना फुड भौचर पाउनेछन् ।