धरान: प्रदेश नं १ मा विभिन्न दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने थप एक जनाको भीरबाट खसेर मृत्यु भएको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार हिजो शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार को २० प ९८९६ नम्वरको मोटरसाईकल सडक डिभाईडरमा ठोक्किएर दुर्घटना हुदा चालक बिराटनगर १४ का ३० बर्षीय श्याम कामत गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा बिराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, मोरङको जहदा गाउँपालिका ६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को ३५ प ३४०५ नम्वरको मोटरसाईकल ठक्कर लागेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाईकल चालक बिराटनगर १९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि कोशी अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुवै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ।

यसैगरि, इलामको सुर्योदय नगरपालिका ३ स्थित फिकल(पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्योदय नगरपालिका-१ का २३ बर्षीय सौगात राई रहेका छन् । हिजो बेलुका साढे ४ बजे पशुपतिनगर तर्फ जाँदै गरेको को।१ज ३५८९ नम्वरको बलेरो गाडीले बिपरित दिशाबाट आउदै गरेको मे ११ प ८४९ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा चालक सौगात राई र पछाडि सवार रहेकी २५ बर्षीया सम्झना राई घाईते भएका थिए । घाईते दुबैलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसि अस्पताल लगिएको थियो । उपचारको क्रममा सौगात राईको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको छ ।

यस्तै, ओखलढुंगाको मोलुङ गाउँपालिका ४ स्थित भिरबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ(४ घले गाउँका ईन्द्र सुनुवारको श्रीमती ३८ बर्षीया मिना सुनुवार रहेको प्रहरीले जनाएको छ । हिजो बेलुकी पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडेर सुनुवार घाईते भएकी थिइन् । सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएको थियो । उनको उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।