विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको भद्रपुर र विर्तामोडमा २–२, बाहृदशी, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१ जना छन् भने सुनसरीको इटहरीमा ४, मोरङको विराटनगरमा २, बुढीगंगामा १ जना छन् । यसैगरि, इलामको माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको अरुण, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७ महिला र २८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८८९ रहेको मन्त्रालयले जनाएको छ ।