धरान: संखुवासभाको शिङ्सा क्षेत्र थातथलो भई धरानमा बसोबास गर्ने बौद्धमार्गी शिङ्साबासीहरुले बिहिबार ज्यालो ल्होसार धुमधामकासाथ मनाएका छन् । 

धरान १५ बगरकोट क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा परिसरमा बिहिबार प्रदेश नम्बर १ का सांसद उमिता बराईलीको प्रमुख आतिथ्यमा ज्यालो ल्होसार चाड मनएका हुन् । सांसद बराइलीले गुम्बा निर्माण कार्यमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन्। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गैसकेको भन्दै उनले दशैमा सार्वजनिक बिदा दिए जस्तै ल्होसार लगायत आदिवासी जनजातिको चाडपर्वमा पनि सार्वजनिक बिदा दिएमा सबैले यो देश आफ्नो भएको अपनत्व महशुस गर्ने बताइन् । सांसद बराइलीको सांसद बिकास कोषबाट गुम्बाको लागि ७ लाख विनियोजन भएको थियो । 

वडा नं १५ का अध्यक्ष नरेश इवारमले गुम्बा निर्माणमा वडा कार्यालयबाट दुई लाख र सामुदायिक भवनको लागि पनि थप दुई लाख सहयोग गरेको बताए । नेकपा माओबादी केन्द्रका नेता आइन्द्र बिक्रम बेघाले गुम्बाको लागि पार्टी मार्फत सक्दो पहल गरेको बताए । चालू आर्थिक वर्षमा गुम्बाको लागि अर्थ मन्त्रालयबाट अर्थमन्त्री जनार्दन शर्मा मार्फत ६० लाख स्वीकृत भएपनि कारणबस ३० लाख मात्र सुनिश्चित भएको बताए ।

jyalo-lohsar-dharan

कार्यक्रममा संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोलाका समुदायको लागि स्वास्थ्य सेवा सहयोग पुर्याएको भन्दै बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका धरानका डेपुटी डाइरेक्टर बिकास साहलाई सम्मान गरिएको थियो । यस्तै, गुम्बा निर्माणको लागि १० हजारसम्म आर्थिक सहयोग गर्ने सुरज राई धरान ४, उद्धव लिम्बू धरान ११, अशोक राई धरान ११, धनकुमार राई धरान ५, पिम्ब छिरिङ भोटे भोटखोला ४ संखुवासभा, ङिमातेन्जिन भोटे भोटखोला २ संखुवासभासहितको व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । 

यसैगरि, गुम्बा र समाज भवन परिसरमा ३२ हजारको लागतमा खानेपानी धारा जडान गरिदिएका गुम्बाका सचिव निमा पोङ्स्युवा र रिनेन लामालाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा गुम्बा निर्माणको लागि स्थानीय समाजसेवी सर्वजित राईले २५ हजार दिने प्रतिबद्धता जनाएका छन् । सोही कार्यक्रममा अर्को बर्षदेखी एकजना पत्रकार लेखकलाई ५ हजार र संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोलामा रहेका अरुणोदय माबिमा अध्ययनरत दुई छात्रछात्रलाई ५(५ हजार छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गरिएको छ । आफ्नो स्वर्गीय बुवा छितेन पोङ्स्युवा र आमा भुटिक पोङ्स्युवाको नाममा अक्षयकोष स्थापना पछि सो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । 

jyalo