धरान: धरान उपमहानगरपालिकाले चैत २ गतेदेखि ८ गतेसम्म विद्यार्थीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सार्वजनिक गरेको थियो । 

खोप तालिका अनुसार धरानमा बुधबार र बिहिबार २ दिन खोप कार्यक्रम विभिन्न विद्यालयहरुमा सञ्चालन भयो । तर, अब चैत ६, ७ र ८ गते हुने भनिएको खोप कार्यक्रम प्राविधिक कारणले स्थगित भएको सुचना उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले बिहिबार दिउँसो जारी गर्यो । 

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय हुदै पाउनुपर्ने खोपको मात्रा आउन ढिलाई भएकोले स्थगित गरिएको हो । उनले भने,‘दुई दिन नियमितरुपमा खोप लगाइयो, तर अबको ३ दिनको खोप तालिका स्थगित गर्नुपर्यो ।’ मेहताका अनुसार जिल्ला स्वास्थ्यबाट खोप प्राप्त हुनासाथ पुन: बाँकी विद्यालयका विद्यार्थीहरुलाई खोप लगाइनेछ । 

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले मोर्डना खोप एक महिनाभित्रै प्रयोग गरिसक्नु पर्ने भएकोले सिमित संख्या मात्र आएको बताए । ‘एक महिनाभन्दा बढी चलाउन पाइदैन । ३० दिन मात्र समय हुने भएकोले धेरै ल्यायो भने एक्स्पायर हुन्छ, त्यसैले थोरै आएको थियो । अब चाडै आइहाल्छ,’उनले भने । 

२ दिनमा ६ हजार ८ सय बढीले लगाए दोस्रो मात्रा

धरानमा २ दिनमा ६ हजार ८ सय बढी विद्यार्थीहरुले मोर्डना खोपको दोस्रो मात्रा लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार २ दिनमा ६ हजार ८ सय ४५ जना विद्यार्थीहरुले मोर्डनाको खोपको दोस्रो मात्रा लगाएका हुन् । 

पहिलो दिन बुधबार ४ हजार २ सय ९१ जनाले दोस्रो मात्रा लगाएका छन् भने बिहिबार २ हजार ५ सय ५४ जना विद्यार्थीहरुले दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मोर्डना खोपको पहिलो मात्रा लगाउने विद्यार्थीहरुको संख्या १७ हजार बढी रहेको छ । गत माघ १६ देखि २१ गतेसम्म १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई मोर्डना खोपको पहिलो मात्रा लगाइएको थियो । 

mordana 1

mordana1 1

mordana2 1