धरान: धरानमा जारी स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं। १५ र वडा नं ११ सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा दुवै टोली विजयी हुँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । समुह ए मा रहेको वडा १५ ले समुह चरणको तीन वटै खेल जितेर ९ अंकको साथ समुह विजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको हो । वडा नं ११ ले भने २ खेल जित्दै ६ अंकका साथ समुह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । समुह ए बाट वडा नम्बर १४ एक खेल मात्र जित्यो भने वडा नं १८ ले कुनै पनि खेल नजिति अंकविहिन हुदै समुह चरणबाट बाहिरिएको छ । 

आइतबार पहिलो खेलमा वडा नं। ११ ले वडा नं १४ लाई १-० ले पराजित गरेको थियो । वडा ११ को लागि हेमन्त थापा मगरले निर्णायक गोल गरेका थिए । उनले खेलको ३४ औं मिनेटमा पेनाल्टी मार्फत् गोल गरे । खेलको म्यान अफ द म्याच वडा नं ११ का डिफेन्स अजय विष्ट घोषित हुदै नगद २५ सय हात पारे ।

यस्तै, आइतबार नै भएको दोस्रो खेलमा वडा नं १५ ले वडा नं १८ लाई ३–१ गोल अन्तरले पराजित गर्यो । वडा नं १५ को लागि मदन लाबुङले २ गोल गरे भने सुगम जिमीले १ गोल गरे । लाबुङ खेलको म्यान अफ द म्याच घोषित भए । वडा नं १८ को लागि जलन लिम्बूले १ गोल गरेका थिए । 

subas1 1

सोमबार समुह चरणको अन्तिम खेल हुदैछ । पहिलो खेलमा दिउसो २ बजे वडा नं। ८ र १६ भिड्दैछ भने दोस्रो खेल वडा नं। १३ र १९ बीच हुनेछ । वडा नं १६ ले समुह चरणको दुवै खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने अन्य ३ टिमको पनि सम्भावना बराबर छ ।

गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समुह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । चैत्र १२ गते हुने फाइनलको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।