धरान: पहिलो पटक आयोजित स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं १५ फाइनल प्रवेश गरेको छ ।

धरान १७ स्थित रंगशालामा बुधबार सम्पन्न सेमीफाइनल खेलमा वडा नं १९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै वडा १५ फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबारीमा टुंगिएको थियो । थप गरिएको १५ मिनेटको खेलअवधिमा पनि दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको निर्णय भएको हो । 

टाइब्रेकरमा धरान १५ का आशुतोष राई, मदन लाबुङ र बावरजंग कार्कीले गोल गरे भने रोमन लिम्बूको प्रहार बाहिरिएको थियो । यस्तै, धरान–१९ का विनोद राईले मात्र गोल गर्न सफल भएका थिए । बविन लामा र आशिष राईको प्रहार बारमा लागेर फर्किएको थियो भने अतित लिम्बूको प्रहार १५ नं. वडाका गोल किपर प्रविण राईले बचाएका थिए । खेलको म्यान अफ दि म्याच गोलकिपर प्रविण राई घोषित भए । उनलाई २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोली (बिहिबार) दिउसो ४ बजे वडा नं. १३ र ११ बीच सेमिफाइनल खेल हुनेछ । उक्त खेलको विजेतासँग वडा नं १५ ले फाइनल खेल्नेछ । प्रतियोगिताको फाइनल चैत १२ गते हुनेछ । गोधुली रनिङ कपका उत्कृष्ट ८ टिमलाई सहभागी गराएर पहिलो पटक प्रतियोगता आयोजना गरिएको हो । फागुन २८ गते शुरु भएको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पुरस्कार पाउनेछ । 

subas 3