धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको उपाधिको लागि धरानको वडा नं ११ र १५ बीच फाइनल भिडन्त हुने भएको छ ।
धरान १६ स्थित रंगशालमा बिहिबार भएको सेमीफाइनल खेलमा वडा नं १३ लाई पराजित गर्दै फाइनल प्रवेश गरेपछि वडा ११ र वडा १५ को बीच उपाधि भिडन्त हुने निश्चित भएको हो । वडा नं ११ ले बिहिबार दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा वडा नं १३ लाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिए पछि थप गरिएको समयमा पनि दुवै टिमबाट निर्णायक गोल हुन सकेन ।
टाइब्रेकरमा वडा ११ ले वडा १३ वडालाई ५–४ गोल अन्तरले पराजित गर्यो । टाइब्रेकरमा वडा ११ को लागि वर्तमान राई, रिवस मास्के, दावा शेर्पा, सुवल राई र हेमन्त थापा मगरले गोल गरे । वडा १३ का दोर्जे तामाङ, मिलन राई, अशोक कटवाल र मनोज राईले गोल गरे भने टिम क्याप्टेन निश्चल श्रेष्ठको प्रहार वडा ११ का गोल किपर प्रदीप जिमीले रोकेर असफल बनाएका थिए । गोलकिपर जिमी खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले नगद २५ सय पुरस्कार पनि हात पारे ।
निर्धारित समयको खेलमा अग्रता भने वडा नं १३ ले लिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा वडा १३ का मनोज राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको २६ औं मिनेटमा वडा ११ का हेमन्त थापा मगरले गोल गर्दै खेल बराबरी बनाएका थिए । प्रतियोगिताको फाइनल खेल शनिबार दिउसो ३ बजे वडा नं ११ र वडा नं १५ बीच हुनेछ ।वडा १५ ले पहिलो सेमीफाइनल खेलमा वडा नं १९ लाई हराउदै फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार हात पार्नेछ ।